०८ साउन २०८३, शुक्रबार

बास्केटबलमा कीर्तिपुरको विजयी शुरूआत

बास्केटबलमा कीर्तिपुरको विजयी शुरूआत

कीर्तिपुर नगरपालिकाले लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा सोमवार विजयी शुरूआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई ९५–६९ ले पराजित गर्‍यो ।

कीर्तिपुरले चारै क्वार्टरमा अग्रता लियो । कीर्तिपुरले २५–२१, २३–१८, २४–१६ र २३–१४ को अग्रता बनाउँदै विजयी शुरूआत गरेको छ । कीर्तिपुरको सहज जीतमा सोमन महर्जनले २४ अंक योगदान गरे । बीएमकेका मिलन मल्ल २९ स्कोर गरे पनि जीतका लागि पुगेन ।

पुरुषमै सुजन महर्जनको ३१ अंक सहयोगमा ड्रिम टीमले शंकर देव क्याम्पसलाई ८३–४८ ले सहजै हरायो । शंकरदेवका राजेश ठकुरीले १६ अंक जोडे ।

पहिलो क्वार्टरमा १५–१४ को झिनो अग्रता लिएको ड्रिम टीमले अन्तिमसम्म अग्रतालाई जोगाइराख्यो । ड्रिम टीमले दोस्रोमा २३–१३, तेस्रोमा ३२–१२ र चौथोमा १३–९ अंक जोड्यो ।

नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको महिलामा रोयल बास्केटबल एकेडेमीले ललितपुर हाइमाथि ४८–३९ को जीत दर्ता गर्‍यो ।

पहिलो क्वार्टरमा १४–१० को अग्रता बनाएको रोयल दोस्रोमा ९–९ को बराबरीमा रोकियो । तेस्रो क्वार्टरमा रोयल ८–१२ ले पछि परेपछि खेल ३१–३१ को बराबरीमा पुगेको थियो । चौथो तथा अन्तिम क्वार्टर रोयलले १७–८ ले आफ्नो पक्षमा पार्दै जीत सुनिश्चित गर्‍यो ।

आयोजक संघका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको स्मृतिमा आयोजित प्रतियोगिताको स्व. लामाका बुवा लामा पासाङ शेर्पा र दाइ नवाङ निमा लामाले उद्घाटन गरे ।

फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको पुरुषमा १३ र महिलामा ५ टीम सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्