०५ असार २०८३, शुक्रबार

७२ लाख जरिवाना तोकिएका व्यक्ति अदालतमा पेस

७२ लाख जरिवाना तोकिएका व्यक्ति अदालतमा पेस

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई रु ७२ लाख जरिवाना तोकिएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज अदालतमा पेस गरेको छ । उच्च अदालत पाटनको गत मङ्सिर २४ गतेको फैसलाले तनहुँ घर भई काठमाडौँको सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सनका सञ्चालक ३२ वर्षीय सुरज गुरुङलाई २४ दिन कैद र ७२ लाख जरिवाना हुने फैसला सुनाएको थियो । त्यसपछि उनी फरार हुँदै आएका थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएको ठहर गरी उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।

यसैबीच बैंकिङ कसुर सम्बन्धीकै अर्काे मुद्दामा सिन्धुपाल्चोक घर भई काठमाडौँ महानगरपालिका–३१ तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारीलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ । उनलाई विसं २०७७ मङ्सिर १३ गतेको फैसलाले ५ दिन कैद र रु नौ लाख ७३ हजार जरिवाना ठहर भएको थियो । उनलाई लाजिम्पाटमा फेला पारी आजै फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्