
उत्तरीतर्फका मुख्य दुई नाका तातोपानी र केरुङबाट हुने चीनसँगको व्यापार आठ वर्षदेखि सहज छैन ।
यी नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्य छ ।
यी दुवै नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्धजस्तै हुँदै आएको, निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले यी दुई नाकाबाट निर्यात नभएको आठ वर्ष भएको र आयात पनि सहज नभएको जानकारी दिए ।
२०७१ साउन १७ गते जुरे पहिरोपछि रोकिएको निर्यात अहिलेसम्म हुन सकेको छैन । त्यसपछि २०७२ को विनाशकारी भूकम्प, २०७३ र त्यसपछिको भोटेकोसी बाढीपहिरोका कारण देखाउँदै चीनले नाकाको सहज सञ्चालन गरेको छैन ।
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि २०७६ जेठ १५ गतेसम्म तातोपानी नाका चीनले एकतर्फी रूपमा पूर्ण बन्द गरेको थियो । यो अवधिमा तातोपानी नाकाबाट कुनै पनि कारोबार नै भएन ।
दुई वर्षअघि आंशिक रूपमा खुलेको यो नाकाबाट आयात पनि खस्कँदै गएको छ । नेपाल सरकारको पहलमा चीनले उक्त नाका २०७६ जेठको तेस्रो साता आंशिक रूपमा खुलाएको थियो ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले तातोपानी नाका पूर्ण रूपमा खुलाई आयात र निर्यातमा सहजता ल्याउनका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दै आएको बताए । गोरखापत्र दैनिकमा चित्र मिजारले खबर लेखेका छन् ।