
त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट यात्रा गर्ने आन्तरिक उडानतर्फका यात्रुले अनिवार्य प्रिन्ट गरेको टिकट बोक्नु पर्ने भएको छ ।
विमानस्थलको आन्तरिक टर्मिनलबाट देशका अन्य ठाउँमा जाँदा टिकट प्रिन्ट गरेको प्रती अनिवार्य गरिएको महानगरीय विमानस्थल प्रहरी सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीम ढकालले जनाकारी दिए ।
‘मोबाइलमा टिकट देखाउँदा स्पष्ट नदेखिने र इडिट गरेर अनावश्यक मानिसहरू गएकाले सुरक्षामा असर देखिएपछि प्रिन्ट टिकट अनिवार्य गरिएको हो,’ एसएसपी ढकालले लोकान्तरसँग भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विमानस्थल प्रहरी र एयरलाइन्स कम्पनीको संयुक्त बैठकले सोमवार सो निर्णय गरेको एसएसपी ढकालले बताए ।
कोरोना भाइरसको संक्रमणका कारणले टिकट मोबाइलमा देखाएर विमानस्थलमा छिर्न पाउने व्यवस्था थियो तर अहिले भने कोरोना संक्रमण पनि कम भएको र सुरक्षाका हिसाबले अलि संवेदनशील देखिएकाले अनिवार्य गरिएको विमानस्थलले जनाएको छ ।
सुरक्षा जाँचमा गर्नुपर्ने भएकाले एक घण्टा छिटो विमानस्थलमा जानको लागि पनि प्रहरीले अनुरोध गरेको छ ।