
समिट एयरले ढुवानीको विषयलाई लिएर दिएको मुद्दा फिर्ता लिएपछि हुम्लाको खाद्य ढुवानी समस्या समाधान भएको छ ।
समिट एयरले उच्च अदालत पाटन र सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएपछि ढुवानी सुचारु गर्ने वातावरण बनेको हो ।
निवेदन दाबीको प्रयोजन समाप्त भइसकेकाले मुलुकी देवानी कार्यसंहिता, २०७४ को दफा १९६ बमोजिम रिट निवेदन फिर्ता पाऊँ भनी समिट एयरका तर्फबाट वारेस पाएका अधिवक्ता अर्जुनप्रसाद भण्डारीले २०७८ माघ २० मा निवेदन दर्ता गराएका थिए ।
उक्त निवेदनमाथि माघ २३ गते सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मीरा खड्का र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले रिट फिर्ता लिन अनुमति दिएको थियो ।
त्यसैगरी उच्च अदालत पाटनका न्यायाधीशद्वय भोजराज अधिकारी र नरिश्वर भण्डारीको संयुक्त इजलासले पनि निवेदन फिर्ता लिनका लागि माघ २३ गते नै अनुमति दिएको थियो ।


खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई विपक्षी बनाई समिट एयरले मुद्दा दायर गरेका कारण हुम्लामा खाद्य ढुवानी हुन सकिरहेको थिएन।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका वितरण शाखा प्रमुख भीमबहादुर थापाले मुद्दा फिर्ता भएका कारण हुम्लाको खाद्य ढुवानीको समस्या समाधान भएको बताए ।
हुम्लामा असारसम्ममा १० हजार क्विन्टल सरकारी अनुदानको चामल ढुवानी गर्नुपर्नेछ।
'माघसम्म २ हजार ८ सय क्विन्टल चामल ढुवानी भइसकेको छ, अब समिट एयरले दिएको मुद्दा फिर्ता लिएपछि बाँकी चामल पनि छिट्टै ढुवानी हुन्छ,' थापाले लोकान्तरसँग भने, 'अहिले पनि प्रतिदिन २ सय ५० देखि २ सय ६० क्विन्टलसम्म चामल हवाइ ढुवानी हुने गरेको छ।'
प्रत्येक महिनामा २ हजार क्विन्टल चामल त्यहाँ ढुवानी हुने गरी ठेक्का लागेको छ । ठेक्काको म्याद असार मसान्तसम्म भए पनि त्यसअघि नै कोटाको १० हजार क्विन्टल चामल पुर्याउने तयारी गरिएको उनले बताए ।
हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा खाद्य संकट तथा ढुवानीको विषयमा गरिएको सर्वपक्षीय बैठकमा समिट एयरले आफू चामल ढुवानी गर्न इच्छुक रहेको र आफ्नो एयरलाइन्सलाई पनि ढुवानी गर्न दिने हो भने मुद्दा फिर्ता लिन तयार रहेको भनेपछि सहमतिका आधारमा मुद्दा फिर्ता लिने वातावरण बनेको हो ।
'स्थानीय तहको निर्वाचन समेत नजिकिएको हुनाले त्यसअघि नै हुम्लाको खाद्य संकट अन्त्य गर्न ढुवानीको विषयको विवाद समाधान गर्न सर्वपक्षीय बैठक बसेर समिटलाई मुद्दा फिर्ता लिन अनुरोध गरिएको थियो,' थापाले लोकान्तरसँग भने, 'चामल ढुवानीका लागि ठेक्का पाएको श्रीर्मिका एयर कार्गोले पनि समिट एयरलाई ढुवानी गर्न दिने भनेपछि समस्या समाधान भएको छ ।'
ठेक्का पाएको श्रीर्मिका एयर कार्गोले सीता एयर र तारा एयरमार्फत चामल ढुवानी गर्दै आएकोमा अब समिटलाई पनि हवाई ढुवानी गर्न दिने भएपछि समस्या समाधान भएको उनले बताए।
सुर्खेतदेखि हुम्लाको सिमीकोट हवाइ मैदानसम्म र नेपालगञ्जदेखि हुम्लाको सिमीकोट हवाइ मैदानसम्म खाद्यान्न ढुवानीका लागि कम्पनीले २०७८ साउन १५ गते बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको थियो ।
आर्थिक वर्ष २०७८/०७९ का लागि प्रकाशित गरिएको उक्त सूचनामा आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ सम्म अर्थात् पछिल्लो ३ वर्षमा कम्तिमा १२ करोड रुपैयाँ बराबरको खाद्यवस्तु ढुवानी गरेको हुनुपर्ने शर्त राखिएको थियो ।
विगतमा निजी विमान कम्पनीले खाद्य वस्तु ढुवानीका लागि बोलपत्र प्रक्रियामा भाग लिएर छनोट हुने, अनि छनोट भइसकेपछि सम्झौता अनुसारको परिणाममा खाद्य वस्तु ढुवानी नगरिदिने समस्याका कारण ३ वर्षमा १२ करोड रुपैयाँसम्मको ढुवानी गरेको हुनुपर्ने शर्त राखिएको उनले बताए ।
२०७८ भदौ २२ गते गोप्य सिलबन्दी फारम खोल्दा तारा एयर, समिट एयर, सीता एयर र श्रीर्मिका एयर कार्गो सर्भिसले प्रस्ताव गरेका थिए । १२ करोड रुपैयाँको शर्त पूरा गरी प्रभावग्राही बोलपत्र श्रीर्मिका एयर कार्गोले मात्र पेश गरेको थियो ।
सुर्खेतको हवाइ मैदानदेखि हुम्ला सिमीकोट मैदानसम्म ६ हजार क्विन्टल चामल प्रतिकेजी १०५ रुपैयाँ, नेपालगञ्ज हवाइ मैदानदेखि सिमीकोट मैदानसम्म ४ हजार क्विन्टल ११२ रुपैयाँ प्रतिकेजीका दरले ढुवानी गर्ने प्रस्ताव उसको थियो ।
३ वर्षमा १२ करोड बराबरको खाद्य वस्तु हुम्लाका लागि ढुवानी गरेको हुनुपर्ने योग्यता पुष्टि हुने कागजात पेश गर्नुपर्ने शर्त रहेकोमा तारा एयरले १० करोड ४४ लाख, समिट एयरले ९ करोड ४३ लाख र सीता एयरले १० करोड ५ लाख रुपैयाँ बराबरको मात्र कागजात पेश गरेका थिए ।
र श्रीर्मिका एयर कार्गोले १५ करोड बराबरको खाद्य वस्तु पछिल्लो ३ वर्षमा ढुवानी गरेको कागजात पेश गरेका कारण मूल्यांकन समितिले ४ बोलपत्रदातामध्ये श्रीर्मिका एयर कार्गोलाई मात्र प्रभावग्राही भन्दै सम्झौताका लागि आह्वान गर्यो ।
त्यसपछि समिट एयरले ठेक्का सम्झौता रद्द गर्न माग गर्दै मुद्दा दायर गरेको थियो ।