
नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ ।
मन्त्री खतिवडाले झुटो बोलेको र झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्नुपर्ने एमालेले बताएको हो ।
खतिवडाले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रूपैयाँमा किनेर लगाएको अभिव्यक्ति झुटो भएको भन्दै एमालेले विरोध गरेको हो ।
उनले केपी ओली नेतृत्वको सरकार रहँदा आफूले पाँच हजार रूपैयाँमा खोप किनेर लगाएको दाबी गरेका थिए ।
एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति प्रकाशन गरेर मन्त्री खतिवडाको उक्त दाबी झुटो भएको बताएका हुन् ।
‘तत्कालीन सरकारले ०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरुलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गर्नुभएको छ । उक्त अभिलेखमा ६२ वर्षका खतिवडाले ब्याच नम्बर ४१२० जेड ००४ को कोभिशिल्ड खोप लगाएको स्पष्ट छ,’ भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमालेले मन्त्री खतिवडाले खोप लगाएको विवरणको अभिलेखसमेत अस्पतालबाट ल्याएर सार्वजनिक गरेको छ ।
‘स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बदनाम गर्नकै लागि आम जनसमुदायलाई गलत सूचना दिई कोभिडजस्तो संवेदनशील विषयमा अफवाह सिर्जना गर्नुभएको छ,’ भट्टराईले भनेका छन्, ‘झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ ।’