
शिक्षा मन्त्रालयले विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी जेठ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ । वैशाख महिनाभित्र परीक्षा सकिसक्ने तथा सोही महिनामा भर्ना कार्यक्रम पनि सकेर जेठ १ देखि कक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७९ को चैत्र मसान्त सम्मको पुरै अवधि विद्यालयले नियमित रूपमा पठन पाठन संचालन गर्न निर्देशन दिएको छ । विद्यालयले लिने कक्षा १० सम्मका सबै प्रकारका परीक्षाहरू २०७९ वैशाखमा मात्र संचालन गर्ने र नतिजा प्रकाशनको काम समेत बैशाख महिना भित्रै सक्नुपर्ने केन्द्रको निर्णय छ ।
यस्तै माध्यमिक शिक्षाको कक्षा १० को परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका यसअघि नै सार्वजनिक भईसकेको छ । यही अवस्थालाई समेत विचार गरी स्थानीय तहले कक्षा आठको परीक्षा समेत वैशाखमा अनुकुल समयमा सञ्चालन गर्नुपर्ने केन्द्रको निर्णय छ ।
केन्द्रको निर्णयमा भनिएको छ, ‘विद्यालयले शैक्षिक सत्र २०७९ को नयाँ भर्ना समेत वैशाख महिनामा नै शुरू गर्ने, २०७९ जेष्ठ १ गते देखि नियमित पठन पाठन गर्ने र २०७९ चैत्र मसान्तभित्र राष्ट्रिय पाठयकम प्रारूपले निर्दिष्ट गरे बमोजिम पाठ्यघण्टा अनुसारको पठन पाठन तथा सिकाइ क्रियाकलाप एवम् परीक्षा र मूल्याङ्कनका कार्यहरू सकिने गरी विद्यालयले स्थानीय तहसँगको समन्वयमा वार्षिक शैक्षिक कार्यतालिका तय गरी कार्यान्वयन गर्ने ।’
कोभिड १९ को संक्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी माघ महिनाभर देशभरका सबै विद्यालयहरू बन्द रहेकोले शैक्षिक सत्र २०७८ को बाँकी अवधिको पठन पाठन, शैक्षिक सत्र २०७९ को नयाँ विद्यार्थीलगायतका सन्दर्भमा नयाँ निर्णय आएको हो।