काभ्रेको बनेपा नगरपालिका–४, अँधेरीका १६ वर्षीय समीर तिमल्सिनाले सोमबार आफ्नै घरको टहरामा आत्महत्या गरे ।
आत्महत्याअघि समीरले आफूले सं‚कार सिक्न नजान्दा ह्युमिलेसन (हीनताबोध) भएका कारण आत्महत्या गरेको 'सुसाइड नोट’समेत लेखेका थिए ।
यसैगरी गत माघ २४ गते बनेपा नगरपालिका–३ तीनघरेकी ११ वर्षीया अस्मिता तामाङले भाइसँग भएको सामान्य विवादका कारण आवेशमा आई घर नजिकैको रूखमा पासो लगाएर आत्महत्या गरिन् ।
जिल्लामा चालू आर्थिक वर्षको साउनदेखि फागुन ३ गते मङ्गलबारसम्म पाँच बालबालिकाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पछिल्लो समय जिल्लामा आत्महत्याको दर बढेसँगै बालबालिकाको आत्महत्या दरसमेत बढेको छ ।
कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले माघ महिनामा मात्रै जिल्लामा तीन बालबालिकाले आत्महत्या गरेको बताए ।
उनले जिल्लामा कुनै कुरामा आवेशमा आएर बालबालिकाले आत्महत्या गरेको देखिएको बताए ।
उहाँले जिल्लामा नौ वर्ष उमेर समूहका बालिकाले समेत आत्महत्या गरेको बताए ।
“जिल्लामा भाइसँगको सामान्य विवाद, संस्कार सिक्न नसक्दा भएको हीनताबोध, चोरीको आरोप र यौन हिंसाका कारण बालबालिकाले आत्महत्या गरेको देखिएको छ”, प्रहरी नायब उपरीक्षक खतिवडाले थपे।
उनले चोरीको आरोप लगाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा एक जनालाई मुद्दासमेत चलाइएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।