०१ असार २०८३, सोमबार

संकटमा सत्ता गठबन्धन, अब के गर्ला माओवादी ?

फागुन ५, २०७८
संकटमा सत्ता गठबन्धन, अब के गर्ला माओवादी ?

प्रतिनिधिसभा बैठक झन्डै दुई महिनामा बुधबार बस्यो। तर, एमसीसी टेबल भएन।

सत्ता गठबन्धनकै दलका 'अप्रत्याशित' निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन्।

प्रधानमन्त्री देउवाले अमेरिकी निकायसँगको अनुदान सम्झौता अनुमोदनमा लैजान गठबन्धनका दलले सहयोग गर्ने 'विश्वास' लिएका थिए। त्यही कारण कार्यव्यवस्था परामर्श समिति बैठक राख्न सभामुखलाई भनेका थिए। एमसीसी बुधबारै अघि बढाउने 'माहोल' बनाउन लागेका थिए देउवा।

तर, गठबन्धन दल माओवादी केन्द्रले एमसीसी जबर्जस्ती पेश गरे विपक्षमा मतदान गर्ने निर्णय गर्यो। त्यति मात्रै होइन, सरकारबाट पछि हट्ने निर्णय नै उसले लियो। गठबन्धनका अरू दलले पनि उक्त निर्णयमा 'सही' थपे। जस्ताको तस्तै सम्झौता अघि नबढाउन प्रधानमन्त्रीलाई ‘दबाब' दिए। अन्ततः सरकारले एमसीसी अघि बढाएन।

गठबन्धनमै विवाद देखिएपछि सभामुखले प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाएका छन् । त्यसअघि सहमति जुटाउन प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बिहीबार डाकेका छन्। उनी अनुदान सम्झौता अनुमोदन गर्न दृढ देखिएका छन्।

तर, माओवादी केन्द्रसहित एकीकृत समाजवादी र अरू दल एमसीसी पारित गर्न नहुने अडानमा छन् । जसपाले पनि बोली फेरेको छ। परिमार्जनबिना एमसीसी पारित गर्न नहुने धारणा जसपाका नेताहरूले व्यक्त गरेका छन्।

डा. बाबुराम भट्टराई एमसीसी अनुमोदनका पक्षमा छन्। उपेन्द्र यादव भने खुलेका छैनन्। उक्त पार्टीका नेता प्रमोद साहले गठबन्धनमा सहमति जुटाएर मात्रै एमसीसी टेबल गर्नुपर्ने बताए। 'एमसीसी राम्रै होला तर यसमा राष्ट्रिय सहमति जुटाउन नसक्दा गिजोलियो', नेता साहले भने, 'एमसीसी सिधै अनुमोदन गरियो भने ठूलो दुर्घटना निम्तिन सक्छ।'

अब सम्भावित राजनीतिक परिदृश्य यस्तो देखिन्छ। एमसीसी पास हुने, गठबन्धन जोगिने। गठबन्धन टुट्ने, एमाले जोडिने। एमालेको सहयोगमा एमसीसी पास गर्ने। गठबन्धन पनि भत्किने, एमाले पनि नजोडिने, मत पनि नदिने।

गठबन्धन जोगाएर एमसीसी पारित गर्ने

गठबन्धन पनि जोगाउने र एमसीसी पनि पास गर्ने सोचमा सिंगो कांग्रेस र प्रधानमन्त्री देखिएको विश्लेषक गेजा वाग्ले बताउँछन्।

'बुधबारकै घटनाक्रम हेर्दा नैतिक रूपमा माओवादी स्खलित भएको देखियो', विश्लेषक वाग्ले भन्छन्, 'चार दिनअघि मात्र सैद्धान्तिक सहमति गर्ने अनि प्रक्रियामा जाने बेला द्वैध चरित्र देखाउने ? हिजोको गतिविधिका कारण माओवादीलगायत अरू केही दल ब्याक भएका हुन् कि भन्ने देखियो।' माओवादी र एकीकृत समाजवादी पछि हट्दा कांग्रेससँग विकल्प धेरै रहेको उनी बताउँछन्। भन्छन्, 'उनीहरूसँग विकल्प थोरै छ ।'

कांग्रेस नेता एनपी साउद सहमतिको प्रयास जारी रहेकाले गठबन्धनमा समस्या नआउने बताउँछन्। 'सबैलाई सहमतिमा ल्याएर एमसीसी अनुमोदन गराउने प्रधानमन्त्रीको चाहना र प्रयास छ', नेता साउद भन्छन्, 'दुई-तीन दिनभित्र कुनै न कुनै सहमतिको विन्दुमा पुग्छौं।' अन्नपूर्ण पोस्टमा राधा खनाल र तारा चापागाईंले खबर लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्