
युक्रेनका विषयमा संसारका दुई महाशक्ति अमेरिका र रुस आमनेसामने छन् ।
यसैबीच हजारौं आणविक बम भएको अमेरिका र रुसको सेनाबीचको तनावको नयाँ केन्द्र भूमध्यसागर बनेको छ ।
अमेरिकी सञ्चारमाध्यममा आएको खबरअनुसार, अमेरिकी जलसेनाको सबमरिन हन्टर विमान पी८ भूमध्यसागरको गश्ती गरिरहेको थियो । आकाशमै ऊ रुसी विमानहरूको आमनेसामने भयो ।
दुवै देशका विमान एकअर्काको अत्यन्तै नजिक आएको र भिडन्तको स्थिति आइलागेको सीएनएनको रिपोर्टमा उल्लेख छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमा अघिल्लो सप्ताहान्त यो घटना भएको हो ।
यस खतरनाक घटनाक्रममा संलग्न अमेरिकी अधिकारीहरूले यसको पुष्टि गरेका छन् । अमेरिकी विमान नजिक आएका रुसी विमानहरूको बेहोरा असुरक्षित र अव्यावसायिक रहेको अमेरिकी अधिकारीहरूको भनाइ छ ।