
चीनले अन्तरिक्षमा रोबोट सर्प बनाएको र त्यसले शत्रुलाई अप्ठ्यारोमा पार्ने दाबी गरेको छ ।
चीनको एक अनुसन्धान टोलीले रोबोटिक सर्प बनाएको हो । त्यसको शक्ति, लचकता र दीर्घायुले अन्तरिक्षमा खोज गर्न मद्दत गर्छ ।
पाँच फीट लामो रोबोटलाई अन्तरिक्षयानमा जोडिनेछ र यसका नौवटासम्म सेग्मेन्ट हुनेछन् । यसले १९० न्युटन मिटरको टोर्क उत्पन्न गर्न सक्छ जुन १२ सय सीसीको हार्ले डेभिडसन आइरन मोटरबाइकको भन्दा लगभग दोब्बर हो ।
सेग्मेन्टहरूको बीचमा रहेका जोर्नी फनक्क घुम्न सक्छन् जसले गर्दा रोबोट सर्प स्पेस स्टेसनको साँघुरो क्षेत्रमापनि सजिलै पुग्न सक्छ ।
जनवरी महिनामा चीनले रोबोटिक आर्मको प्रदर्शन गरेको थियो । त्यसले अन्तरिक्षयानलाई समातेर धकेलेको थियो । आफ्ना शत्रुहरूका अन्तरिक्षयान र भूउपग्रहलाई चीनले यसमार्फत ध्वस्त पार्ने आशंका अमेरिकाले गरेको छ ।
नयाँ सर्प रोबोट त्यसभन्दा एक कदम अघि बढ्छ किनकि यो अन्तरिक्षका दुर्गम कुनाकाप्चासम्म पनि पुग्छ ।
सर्प रोबोटको आयु पनि असीमित छ । रोबोटको भाँचिएको भागलाई नयाँले विस्थापित गर्न समेत सकिन्छ जसकारण यो अनन्तकालसम्म चल्छ ।