
कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित कान्तिभैरव माध्यमिक विद्यालयले प्रमाणपत्र र चारित्रिक प्रमाण पत्रको मनपरी शुल्क उठाएको भन्दै विद्यार्थीले आपत्ति जनाएका छन् ।
१० जोड २ उत्तीर्ण गरेका विद्यार्थीसँग विद्यालयले प्रमाणपत्रको १ हजार ५०० र चारित्रिक प्रमाणपत्रको ४ हजार रुपैयाँ असुल्ने गरेको विद्यार्थीको आरोप छ ।
छात्रा नीरा राईले शुल्क तिर्दा विद्यालयले बिलसमेत नदिएको गुनासो गरिन् । विद्यालयका लेखापाल दीपेन्द्र सिम्खडा भने प्रमाणपत्रको राष्ट्रिय परीक्षा बोर्डमा १ हजार १०० बुझाउनुपर्ने र भाडाबापत ४०० रुपैयाँ बढी लिएको बताउँछन् ।
चारित्रिक प्रमाणपत्रको भने विद्यालय व्यवस्थापन समितिले नै ४ हजार रुपैयाँ लिने निर्णय गरेको उनको दाबी छ । सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि विद्यालयले मनपरी शुल्क असुल्ने गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक तीर्थराज कोइरालाले ११ र १२ कक्षा चलाउन शिक्षक कोटा एवं स्रोत नभएकाले विद्यार्थीसँग बढी शुल्क लिनुपरेको बताए । स्थानीय तह सञ्चालन ऐन २०७४ ले माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारलाई नै दिएको छ ।
विक्रम संवत् २०७४ देखि ११ र १२ कक्षा शुरू गरेको विद्यालयलाई प्रत्येक वर्ष ३ लाख रुपैयाँ घाटा भएको उनको भनाइ छ । नगरपालिकाले ११ र १२ कक्षा चलाउन जोड गरे पनि सहयोग भने नगरेको विद्यालयले जनाएको छ ।
नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले विद्यालयलाई सहयोग गर्दै आएको बताए । प्रमाणपत्रको शुल्क नगरपालिका भित्रका विद्यालय कसैले ५०० रुपैयाँ र कोहीले ५ हजार ५०० रुपैयाँभन्दा बढी लिने गरेको उनले सुनाए । शुल्क तिर्न नसक्ने विद्यार्थीलाई निवेदनका आधारमा नगरपालिकाले सहुलियत दिँदै आएको छ ।
विद्यालयले ११ र १२ कक्षामा १६ हजार रुपैयाँ शुल्क लिएर पढाउने गरेको जनाएको छ । विद्यालयमा ११ र १२ कक्षामा शिक्षाशास्त्र तथा व्यवस्थापन संकाय सञ्चालनमा छ ।
नगरपालिकाका शिक्षा शाखाका कार्यवाहक प्रमुख विमलप्रसाद निरौलाले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भएकाले शुल्क लिन नपाइने बताए । कान्तिभैरवमा प्रमाणपत्र र चारित्रिक प्रमाणपत्रकै शुल्क लिएका सन्दर्भमा जिज्ञासा राख्दा उनले अनुगमन गरेर निर्देशन दिने बताए ।
विगतमा पनि यस्ता गुनासा आउने गरेको शिक्षा शाखाले जनाएको छ ।