
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक २ लाख संख्याको हाराहारीमा जनशक्ति परिचालन हुने भएका छन् ।
निर्वाचन आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका स्वीकृत गरेसँगै २ लाख जनशक्ति परिचालन गरिने आयोगले अनुमान गरेको छ ।
निर्वाचन आयोगका प्रशासन प्रमुख समेत रहेका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चैत्र १३ गते कूल मतदाताको संख्या यकिन भएपछि ठ्याक्कै कति जनशक्ति लाग्ने कुराको टुंगो लाग्ने बताउँछन् । तैपनि २३ हजार ५०० मतदान केन्द्र कायम हुन सक्ने अनुमानको आधारमा २ लाख जतिको हाराहारीमा जनशक्ति परिचालन हुनसक्ने उनले बताए ।
५०० मतदाता हुने मतदान केन्द्रमा ७ जना र ५०० भन्दा बढी मतदाता हुने मतदान केन्द्रमा ८ जना जनशक्ति परिचालन हुनेछ । २३ हजार ५०० मतदान केन्द्रमा ८ जनाको दरले हिसाब गर्दा १ लाख ८८ हजार जनशक्ति मतदान केन्द्रमा नै परिचालन हुने देखिन्छ ।
७५३ वटा स्थानीय तहमा पालिका स्तरीय निर्वाचन अधिकृतको कार्यालयमा ९/९ जना दरबन्दी कायम हुने छ । त्यस आधारमा सबै पालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा ६ हजार ७७७ जना जनशक्ति परिचालन हुनेछ ।
जिल्लास्थित निर्वाचन कार्यालयमा निर्वाचन अधिकृत तथा सहायक निर्वाचन अधिकृतसहित जोड्ने हो भने १५४ जना जनशक्ति परिचालन हुनेछन् ।