
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्दै घरजग्गा र गाडी कर्जामा समेत कडाइ गर्ने भएको छ । यसका लागि जोखिमको भार कम गर्न शत प्रतिशसम्मको धरौटी अर्थात नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले ऋण लगानीमा कडा गर्ने गरी घरजग्गा, सवारी, शेयर धितो, आयातसहितको कर्जामा कडाइ गरेको राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्टले बताएका छन् । कुन बस्तु तथा सेवाको लागि कति नगद मार्जिन भन्ने विवरण भने केही दिनपछि राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत जानकारी दिने भएको छ ।
बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङ सम्बन्धी रियल इस्टेट कर्जामा पनि जोखिम भार अनुसार नगद मार्जिन राखिने भएको छ । यसका साथै व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ । यसका साथै मौद्रिक नीतिले पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको पनि उल्लेख छ ।