
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)बारे सत्ता गठबन्धनमा सहमति जुट्न नसकिरहेको समयमा सरकारले संसद्को कार्यसूचीमा राख्न आग्रह गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले एमसीसीलाई कार्यसूचीमा राख्न प्रस्ताव गरेका हुन् ।
बुधवारको बैठकमा पनि मन्त्री बडूले एमसीसी कार्यसूचीमा राख्न आग्रह गरेका थिए । नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीबाहेकले सहमति नजनाएपछि प्रतिनिधि सभाको कार्यसूचीमा सो विषय समावेश भएको थिएन ।
गठबन्धनमा सहमति नजुटेकाले शुक्रवारको बैठकको कार्यसूचीमा एमसीसी पर्ने सम्भावना नरहेको संसद् सचिवालय स्रोतले जानकारी दियो ।
एमसीसीबारे सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको गठबन्धन बैठक निष्कर्षविहीन बन्दै आइतवारसम्मका लागि स्थगित भएको छ ।
प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि तोकिएको छ । बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने उल्लेख छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका कारण प्रतिनिधि सभाको बैठक लामो समयदेखि चल्न सकेको छैन ।