
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनुदानमा प्राप्त एमसीसी नलिए नेपालले पूर्वाधार विकास गर्न कसैसँग पैसा लिन नसक्ने अवस्था आउने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने, ‘पूर्वाधारका लागि आएको ५०/६० अर्ब नेपाललाई चाहिँदैन, हामी आफैं सक्छौँ र गर्छौँ भन्ने हो भने अब योभन्दा अगाडिको यात्रामा नेपालले कुनै पनि पूर्वाधार बनाउनका निम्ति नेपालले कोहीसँग पनि पैसा चाहिन्छ भन्ने सक्ने अवस्था रहँदैन ।’
अनुदान समेत चाहिँदैन भनेपछि ऋण लिने अवस्था नै नआउने थापाले बताए । ‘अब अनुदान कतैबाट लिनुभएन । ऋण कतैबाट लिनुभएन । अनुदान र ऋण नलिइसकेपछि अब हाम्रो पूर्वाधार बनाउने आकांक्षा पूरा गर्ने चाहिँ कसरी हो ? कसैले बताइदिनुपर्यो,’ उनले भने ।
उनले आफू संसदमा बहसको प्रतीक्षामा रहेको पनि बताए । ‘म त संसद्को ‘डिबेट’ कुरिरहेको हो । एउटा एउटा बुँदामा ‘डिबेट’ गरौँला भनेर कुरेको हो । ‘डिबेट’ नै गर्न नपाएर मात्रै हो । हामी सबै जवाफदेही हुनुपर्छ । हामी सबैले यसमा काम गरेर आएको हो,’ सांसद थापाले भने ।