
आईसीसी टीट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटमा नेपालले विजयी शुरूआत गरेको छ ।
ब्याटिङतर्फ कमजोर प्रदर्शन गरेको नेपालले कसिलो बलिङ गर्दै घरेलु टोली ओमानविरुद्ध ३९ रनको जीत सुनिश्चित गरेको हो ।
नेपालले दिएको १ सय १८ रनको झिनो लक्ष्य पछ्याउने क्रममा ओमान १७ ओभरमा ७८ रनमा समेटियो ।
नेपालका लागि कमलसिंह ऐरीले ३, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले २/२ तथा अभिनास बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा १ सय १७ रन मात्र बनाउन सकेको थियो ।
नेपालका लागि आरिफ शेखले ३८ र सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन् ।
ग्लोबल क्वालिफायरलाई दुई समूहमा बाँडिएको छ ।
दुवै समूहमा ८/८ टीम छन् । ती ८ टीमलाई पनि २-२ उपसमूहमा बाँडिएको छ ।
नेपाल रहेको उपसमूहमा ओमान, क्यानडा र फिलिपिन्स रहेका छन् । यस उपसमूहबाट शीर्ष २ टोली सेमी फाइनलमा पुग्ने छन् ।
सेमीफाइनलमा अर्को उपसमूहका युएई, आयरल्यान्ड, जर्मनी र बहराइनमध्ये एक टीमसँग प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा फाइनल पुग्ने टोली अस्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपका लागि छनोट हुनेछ ।