
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को सम्बन्धमा नेपालमा भइरहेको विरोध र प्रदर्शनबारे चासो व्यक्त गरेका छन् ।
उनले आज ट्वीट लेख्दै एमसीसीलाई लिएर हिंसालाई उक्साउने काम कदापी स्वीकार्य नहुने बताएका छन् ।
केही राजनीतिक दल र तिनका भातृ संगठनले एमसीसीविरूद्ध सडकमा गरेको प्रदर्शनबारे बेरीले आलोचनात्मक अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।
‘हामी वास्तविकतामा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक हौं । एमसीसीमा पनि त्यही चाहन्छौं’, राजदूत बेरीले भनेका छन् ।
लोकतन्त्रमा आफ्नो विचार व्यक्त गर्ने अधिकार अन्तर्निहित हुने र मानिसलाई शान्तिपूर्वक आफ्नो विचार व्यक्त गर्ने अवसर हुनुपर्ने भएपनि स्वतन्त्रता उपयोग गर्ने नाममा हिंसालाई उक्साउन नहुने बेरीले उल्लेख गरेका छन् ।
अमेरिकी आर्थिक सहयोग एमसीसीबारे नेपालमा केही समययता विवाद बढेको छ ।
कतिपय राजनीतिक दल र भातृ संगठनहरूले भने एमसीसी अनुमोदन गर्न नहुने भन्दै सडकमा निरन्तर प्रदर्शन गरिरहेका छन् ।
अमेरिकी अधिकारीहरूले नेपालमा भइरहेको बहस र प्रदर्शनबारे असन्तुष्टि व्यक्त गरेका छन् ।