१२ असार २०८३, शुक्रबार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १४ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि १४ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रुकुम पूर्वका १४ विद्यालय छनोट भएका छन् ।

विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको कार्यक्रमअन्तर्गत जिल्लाका ३ स्थानीय तहका १४ विद्यालय छनोटमा परेका हुन् ।

कार्यक्रमअन्तर्गत ४ कोठे र २ कोठे भवन निर्माण तथा सूचना प्रविधि प्रयोगशाला (आईसीटी ल्याब) स्थापनाका लागि बजेट आउने छ । ४ कोठे भवनका लागि प्रतिविद्यालय ३६ लाख, २ कोठे भवनका लागि १८ लाख र आईसीटी ल्याब स्थापनाका लागि ६ लाख ५० हजार रुपैयाँ बजेट आउने शिक्षा विकास तथा समन्वय एकाइ रुकुम पूर्वका प्रमुख तिलक गौतमले जानकारी दिए ।

कार्यक्रमका लागि सिस्ने गाउँपालिकाका ६ विद्यालय, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका ४/४ विद्यालय छनोटमा परेका छन् ।

सिस्ने–१ को नवज्योति आधारभूत विद्यालय भट्टेचौर, वडा नम्बर २ को हिमालय मावि नायगाड, वडा नम्बर ५ को रुक्मिणी मावि आईसीटी ल्याब स्थापनाका लागि छनोट भएका छन् । वडा नम्बर ४ को जनप्रिय मावि दादिङमा ४ कोठे भवन, वडा नम्बर १ को आधारभूत विद्यालय सिस्नेपोखरी र वडा नम्बर ४ को आधारभूत विद्यालय अमलाचौरमा २ कोठे भवन निर्माण हुने भएका छन् ।

भूमेको वडा नम्बर २ मा रहेको त्रिवेणी मावि काँक्री, वडा नम्बर ८ को मावि कुचिबाङमा आइसीटी ल्याब स्थापना हुनेछ । वडा नम्बर ३ को टक्सार आधारभूत विद्यालय झुम्लाबाङमा २ कोठे र वडा नम्बर ८ को सरस्वती मावि सिमखोला ४ कोठे भवन निर्माण हुने छन् । पुथा उत्तरगंगाको वडा नम्बर १० को महेन्द्र मावि तकसेरामा कम्प्युटर विज्ञान र ४ कोठे भवन, वडा नम्बर १४ को सिद्धमण्डली मावि राङ्सीमा २ कोठे, वडा नम्बर ९ को आदर्श मावि खाराबाङमा ४ कोठे भवन निर्माण हुने भएका छन् ।

वडा नम्बर ११ को उत्तरगंगा आधारभूत विद्यालय सेराबालुवामा आईसीटी ल्याब स्थापना हुने भएको हो । स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने वित्तिकै कार्यन्वयनको प्रक्रिया शुरू हुने समन्वय एकाइ प्रमुख गौतमले बताए ।

कमेन्ट गर्नुहोस्