२१ जेठ २०८३, बिहीबार

जयपृथ्वी नगरपालिकामा चुनावी चहलपहलः मेयरका लागि उपमेयरदेखि पुरानै आकांक्षीको चर्चा

फागुन ९, २०७८
जयपृथ्वी नगरपालिकामा चुनावी चहलपहलः मेयरका लागि उपमेयरदेखि पुरानै आकांक्षीको चर्चा

स्थानीय निर्वाचनको मिति घोषणा भएयता सबै क्षेत्रका स्थानीय तहमा निर्वाचनको तरंग पैदा भएको छ ।

सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा राजनीतिक दल तथा आकांक्षी व्यक्तिहरू आन्तरिक तयारीमा जुटिसकेका हुन् ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशको उत्तरी पहाडी जिल्ला बझाङस्थित स्थानीय तहमा पनि आगामी निर्वाचनको चहलपहल बढेको छ । जिल्लाको २ नगरपालिकामध्ये जयपृथ्वी नगरपालिकामा चुनावी गतिविधि बढेको छ ।

दलहरूबाट उम्मेदवारको टुंगो लाग्न बाँकी नै छँदा नेताहरू आकांक्षी देखिन थालेका छन् । नेताहरू टिकटका लागि लबिङमा जुटिसकेका छन् ।

एकै दलबाट २ भन्दा बढी मेयरका आकांक्षी देखिएका छन् । नेकपा एमालेकी नेत्री समेत रहेकी नगरपालिकाकी उपमेयर जुना जाग्रीले आउँदो निर्वाचनमा मेयरका लागि आकांक्षा देखाएकी छन् ।

उनले भनिन्, ‘यहाँको विकास निर्माणले गति लिएको छ । केही निर्माण सम्पन्न भइसकेका छन् । केही निर्माणको क्रममा छन् । हामी शुरूका योजना सम्पन्न गर्नलाई र यहाँको सबै विकासे मुद्दाहरूबारे जानकार रहेकाले पार्टीले जिम्मेवारी दिएको अवस्थामा मेयरमा मेरो दाबी रहन सक्छ ।’

नेकपा एमालेबाट सुरतबहादुर सिंह र लालबहादुर खड्काले पनि आकांक्षा व्यक्त गर्दै आएका छन् ।

नेकपा माओवादी केन्द्रबाट वाईसीएल केन्द्रीय उपाध्यक्ष रहेका रतनबहादुर सिंह, गत निर्वाचनमा मेयरका उम्मेदबार नरेन्द्र खड्का, वडा नम्बर ६ का वडाध्यक्ष नरेन्द्र सिंहले पनि मेयरका लागि आकांक्षी रहेको बताएका छन् । नेकपा एकीकृत समाजवादीबाट कलक धामी आकांक्षी देखिएका छन् ।

नेपाली कांग्रेसबाट गत निर्वाचनमा मेयरका उम्मेदवार रहेका चेतराज बजाल, वडा नम्बर १० का वडाध्यक्ष दलबहादुर बिष्ट, कांग्रेस पूर्व जिल्ला सभापति हर्क जंग बहादुर सिंह, नेता पूर्णबहादुर खड्काले आकांक्षा व्यक्त गरेका छन् । विवेकशील साझा पार्टीबाट मीनबहादुर सिंहको पनि चर्चा चलिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्