
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले संसदमा दर्ता भएको एमसीसी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
आज एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
उनले भने, ‘एमसीसीको विपक्षमा उभिन्छौं र विपक्षमा मतदान गर्ने वातावरण बनाउन लाग्छौं ।’
एमसीसीको विपक्षमा मतदान गर्दा गठबन्धन रहन्छ कि रहँदैन भन्ने प्रश्नमा उनले भने, ‘यस बारेमा गठबन्धनको बैठकमा छलफल होला । एमसीसी पास गर्नको लागि सरकारमा गएका होइनौं । सरकारमा बस्ने बाहिरिने कुरा समयले निर्धारण गर्ला ।’
पार्टी भित्रको व्यवस्थापकीय कुराले पार्टीको एकता नतोडिने उनले बताए । सरकारभन्दा देश ठूलो भएको बताउँदै खतिवडाले भने, ‘सरकार भन्दा देश ठूलो हो । सरकारमा जानु राष्ट्रिय आवश्यकता थियो । सरकारमा बस्ने र बाहिर निस्कने कुरा समयले निर्धारण गर्छ ।’
एमसीसीको पक्षमा पार्टी नलाग्ने कुरामा स्पष्ट हुन पनि उनले आग्रह गरे ।