भारतको उत्तर प्रदेशमा विधानसभा चुनाव जारी छ । चुनाव जारी रहेकै बेला नेताहरू कडा प्रतिस्पर्धामा उत्रिएका छन् ।
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले निःशुल्क खाद्यान्न वितरण योजनालाई प्रमुख चुनावी नारा बनाएको छ । कोरोना महामारी फैलिएका बेला सन् २०२० मार्च २६ देखि भाजपा नेतृत्वका प्रधानमन्त्री नरेन्द्र मोदीले गरीबलाई निःशुल्क खाद्यान्न वितरण योजना ल्याएका थिए ।
खाद्यान्न वितरण योजना आगामी मार्चसम्म जारी रहने जनाइएको छ । जुन यतिबेला चुनावी मुद्दा बनेको छ ।
‘प्रधानमन्त्री गरीब कल्याण योजना’ अन्तर्गत उत्तर प्रदेशमा समेत सरकारले निःशुल्क खाद्यान्न वितरण गरेको थियो । प्रदेशका सबै ७५ जिल्लामा १४ करोड ९६ लाखभन्दा बढी व्यक्तिले योजनाबाट लाभ लिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सरकारी योजनाबाट चुनावमा फाइदा लिन खोजेका छन् ।
विपक्षी दलले भने निःशुल्क खाद्यान्न वितरण योजनाको विरोध गर्दै अर्कै योजना ल्याउने प्रस्ताव गरेका छन् । केन्द्र सरकारको बजेटमा यसपालि निःशुल्क खाद्यान्न वितरण योजना समावेश नभएको समेत विपक्षीले बताइरहेका छन् । योजना आगामी मार्चमा सकिनुअघि नै उत्तर प्रदेशमा चुनाव सकिनेछ ।
प्रतिपक्षी दल समाजवादी पार्टी (सपा) प्रमुख अखिलेश यादवले आफू सत्तामा आए हरेक गरीबलाई निःशुल्क खाद्यान्न, ग्यास सिलिन्डर, तोरीको तेल, १ किलोग्राम घ्यू दिने प्रतिबद्धता जनाइरहेका छन् ।