०९ असार २०८३, मंगलबार

युट्युबमा रिलिज भएको एक अब्बल शर्ट मूभी 'हनिमून', छोटो समयमा दमदार सन्देश

युट्युबमा रिलिज भएको एक अब्बल शर्ट मूभी 'हनिमून', छोटो समयमा दमदार सन्देश

हनिमून मनाउन निकै उत्साहित हुँदै होटलमा पुगेको जोडी तब उही दिन छुट्टिने मोडमा पुग्छ, जब श्रीमतीको मोबाइलमा म्यासेजको घण्टी बज्छ ।

म्यासेज गरेका हुन्छन्, उनका पूर्वप्रेमीले । श्रीमानले कसको 'म्यासेज हो ? भनेर सोध्छन् । जवाफ आउँछ– 'मेरो एक्स'को ।

बन्द कोठाभित्र प्रेमिल संवादमा रहेको जोडी एकाएक तनावपूर्ण अवस्थामा पुग्छ । तनाव बढ्दै जाँदा कुरा 'भर्जिनिटी'सम्म पुग्छ ।

आना (प्रतिभा केसी)लाई उनका पति (विशाल कटुवाल)ले तिमी भर्जिन त छौ ? भनेर सोध्छन् ।

आफू भर्जिन नरहेको प्रस्ट संकेत गर्दै आनाले आफ्ना पतिलाई पनि त्यही प्रश्न फर्काउँछिन् ।

त्यसपछि पतिले के जवाफ दिन्छन् ? उनीहरूको सम्बन्ध के हुन्छ ? त्यो कुरा जान्न भने पत्रकार तथा निर्देशक रामजी ज्ञवालीद्वारा निर्देशित शर्ट मूभी हनिमूनका लागि १६ मिनेट ४३ सेकेन्ड समय छुट्याउनुपर्ने हुन्छ ।

उक्त शर्ट मूभी राम्रो इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमा उपलब्ध भइसकेको छ ।

यस शर्ट मूभीमार्फत रामजीले नेपाली पुरातन मान्यता र पछिल्लो समयका युवायुवतीको मनोविज्ञानलाई निकै कलात्मक ढंगले चित्रण गरेका छन् ।

आफू विवाहअघि कुनै युवतीसँग सम्बन्धमा रहनुलाई गर्वको विषयका रूपमा लिने तर, श्रीमतीको त्यही कुरा सुन्न नसक्ने युवकहरूको मनोविज्ञानमा पूरा पटकथा तयार भएको छ ।

धनी परिवार भन्दैमा केटाबारे कुनै सोधखोज नगर्ने र आफ्नी छोरीको इच्छाचाहना समेत नबुझ्ने बाउआमालाई पनि छोटो समयमा दमदार व्यंग्य गरिएको छ ।

हरेक व्यक्तिसँग आ-आफ्नो विगत हुन्छ, तर विगतका तीतामीठा क्षणलाई भुलेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिएको हनिमून औसत शर्ट मूभीभन्दा निकै अब्बल छ ।

पतिका रूपमा विशालले दमदार अभिनय गरेका छन् भने पहिलो पटक शर्ट मूभीमा देखिएकी प्रतिभाको अभिनयलाई पनि राम्रै मान्न सकिन्छ ।

सबैभन्दा माथि यसको कथा, यसले दिने सन्देश र निर्देशनलाई नै क्रेडिट जान्छ ।

झण्डै १७ मिनेट खर्चिँदा तपाईंले समय खेर गएको महशुस गर्नुहुने छैन ।

salt training

कमेन्ट गर्नुहोस्