
नेपालकै पहिलो प्रविधियुक्त नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम ४५ प्रतिशत सकिएको छ ।
अहिले नागढुङ्गा र नौबिसे दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको छ । दुवै नाकाबाट एकसाथ दुईवटा सुरुङ खनिएका छन् । त्यसमध्ये साढे नौ मिटर चौडा भएको मुख्य र ४.७५ मिटर चौडाइ भएको दोस्रो सुरुङ खनिएको छ ।
सुरुङ मार्गमा खटिएका प्राविधिक टोलीका सहसंयोजक (डेपुटी टिम लिडर) इन्जिनियर अच्युत भट्टका अनुसार नागढुङ्गातर्फको नाकाबाट मुख्य सुरुङको चार सय ७४ दशमलव २० मिटर टनेल खनिएको छ । नौबिसेतर्फको नाकाबाट पनि ४७४.४ मिटर सुरुङ खनिसकिएको छ ।
सहायक सुरुङको नागढुङ्गा नाकाबाट ७९० मिटर र नौबिसेतर्फको नाकाबाट ५७० मिटर खनिसकिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ र सहायक सुरुङको कुल लम्बाइ दुई हजार ५५७ मिटर छ । भट्टले भने, “समग्रमा आजसम्म ४५ प्रतिशत काम सकिएको छ । तोकिएकै समयमा निर्माण सक्ने गरी काम भइरहेको छ ।”
मुख्य सडकबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ तथा विस्फोटक पदार्थ बोकेका र गह्रौँ तौल हुने सवारी साधनबाहेक अन्यलाई गुड्न दिइनेछ । दोस्रो सुरुङबाट मुख्य सडकमा सवारीसाधन बिग्रेमा वा कुनै समस्या आएमा आपत्कालीन उद्धारका लागि खटिनुपर्ने सवारीसाधनलाई मात्रै प्रवेश दिइने भट्टले जानकारी दिए । उनका अनुसार मुख्य र सहायक सुरुङ मार्गलाई जोड्न सातवटा पहुँच मार्ग बनाइनेछ । जुन मार्गबाट आवश्यकताअनुसार दुवै सुरुङ मार्गका विशेष अवस्थाका सवारी साधनलाई आवातजावात गर्न दिइनेछ ।
सुरुङ खनिसकेपछि त्यहाँ ३० सेन्टिमिटर बाक्लो ढलान गरिनेछ । तुलनात्मक रूपमा अन्य सडकमा गरिने कालोपत्रेभन्दा यो निकै नै बाक्लो भएको भट्टले बताए । उनले भने, “अन्य सडकजस्तो सुरुङ मार्ग बारम्बार बनाइरहन सकिँदैन । त्यसैले बीचमा कुनै समस्या नआओस् भनेर यहाँ बाक्लो गरी ढलान गर्न लागिएको हो । ढलान गर्ने यन्त्रले एक पटकमा तीन सय मिटर कालोपत्रे गर्न सकिन्छ ।”
सुरुङ मार्गसँगै गुर्जुधारासम्म जोड्ने पहुँच सडकखण्डको निर्माण पनि द्रुत गतिमा भइरहेको छ । उक्त खण्डमा सडक खन्ने, कल्भर्ट निर्माण तथा दायाँबायाँ नाली खन्ने काम पनि एकसाथ भइरहेको छ । आइतबार चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीलगायतका स्थानीय जनप्रतिनिधिले सुरुङ मार्गको निर्माण प्रगतिको अवस्थाबारे जानकारी लिएका छन् ।
सुरुङ मार्ग निर्माणका क्रममा नागढुङ्गा खण्डमा कुनै पनि समस्या आउन नदिने गिरीले प्रतिबद्धता जनाए । गिरीका अनुसार सुरुङ मार्गदेखि गुर्जुधारासम्म निर्माण भइरहेको पहुँच मार्ग र त्यहाँ निर्माण हुन लागेको फ्लाइओभरले ओगट्ने जग्गाको मुआब्जा वितरणको काम पनि अन्तिम चरणमा पुगेको छ ।
गुठीको जग्गा तथा कागजपत्र नमिलेर मुआब्जा वितरण रोकिएका ठाउँमा पनि नगरपालिकाले सहजीकरण गरेर समस्या समाधान गरिरहेको जानकारी गिरीले दिए ।
जापान सहयोग नियोग (जाइका) र नेपाल सरकारको संयुक्त लगानीमा सुरुङ मार्ग निर्माण भइरहेको छ । सुरुङ मार्गको काम २६ महिनाअघि सुरु भएको हो । ४२ महिनाभित्र काम सक्ने भनिएकोमा गत वर्ष कोरोना सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण तीन महिना काम रोकिएको थियो ।
सोहीअनुसार आयोजना निर्माणका लागि सरकारबाट ८६ दिन म्याद थप भएको सहसंयोजक भट्टले जानकारी दिए । गोरखापत्र दैनिकमा सूर्यप्रसाद पाण्डेले खबर लेखेका छन् ।