०७ असार २०८३, आइतबार
विकराल बन्दै अनलाइन ठगी

जिन्दगीभर पढाएर जम्मा गरेको २९ लाख मोबाइलमा प्राप्त एउटै प्रलोभनले स्वाहा !

फागुन १०, २०७८
जिन्दगीभर पढाएर जम्मा गरेको २९ लाख मोबाइलमा प्राप्त एउटै प्रलोभनले स्वाहा !

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका– ८ की ५८ वर्षीया गीता (नाम परिर्वतन) शिक्षण पेशाबाट अवकाश प्राप्त व्यक्ति हुन् । २०७७ सालको मंसिरमा पेशाबाट अवकाश पाएपछि उनी काठमाडौंमा एक्लै बस्दै आएकी थिइन् । 

उनका २ छोरीहरू बेलायतमा बस्दै आएका छन् । अवकाशपछि उनी छोरीहरूसँगै बस्न बेलायत जाने योजनामा थिइन् । काठमाडौंमा एक्लै भएकाले छोरीहरूले उनलाई बोलाइरहेका थिए । 

उनको दैनिकी समाजिक सञ्जाल फेसबूक चलाउँदै बित्थ्यो । बेला–बेलामा छोरी तथा नातिनातिनासँग म्यासेन्जरमार्फत कुराकानी गर्थिन् । 

विक्रम संवत् २०७७ माघमा फेसबूकमा डीआर जोन लाउरेन्स नामबाट फ्रेन्ड रिक्वेस्ट आयो । उनले रिक्वेस्ट त्यो स्वीकार गरिन् । 

म्यासेन्जरमा कुराकानी पनि हुन थाल्यो ।  कुराकानीका क्रममा एकदिन उनलाई ह्याट्स एपमा जोडिन अनुरोध आयो ।  ह्वाट्स एपमा जोडिइन् ।

ती व्यक्तिले एक दिन उनलाई सुनको सिक्रीदेखि ५० हजार र १ लाख ५० हजार पाउन्डसम्म जित्न सक्ने चिठ्ठा भरिदिएको छु, पर्‍यो भने ह्याट्स एपमा फोन आउन सक्छ है भन्ने जानकारी दिए ।

त्यसको २ दिनपछि उनलाई ह्वाट्सएप नम्बर ९८०९४६९४८१५९, ३८०९१६९४८१५९ र ९९४४०२६८३०३२ बाट तपाईंलाई ९० लाख नेपाली रुपैयाँबराबरको चिठ्ठा परेको छ भनेर फोन आयो । 

गीताको खुशीको सीमा रहेन । काठमाडौंमा भएको घर र अवकाशपछि आएको पैसा लिएर बेलायत जाने योजनामा थिइन् । त्यो पैसा खर्च नहुने भयो भन्दै मनमनै हर्षित् थिइन् ।

उनलाई कस्टम चार्ज लाग्ने भनियो र एसबीआई बैंकमा खाता नभए खोल्न समेत ती व्यक्तिहरूले आग्रह गरे ।

उनले एसबीआई बैंकमा खाता रहेको भन्दै खाता नम्बर दिइन् । उनीहरूले चिठ्ठा परेको पैसा उक्त बैंकमा आउने बताएका थिए । 

डीआर जोनले ९० लाख पाउनका लागि आफूले भनेको व्यक्तिलाई कस्टम चार्ज पठाउन आग्रह गरे ।

उनले विश्वास दिलाउनका लागि सुटकेसमा पैसा रहेको फोटोहरू पनि पठाए ।

शुरूमा विकास झा नाम गरेका व्यक्तिलाई नेपाली ४० हजार पठाउन भनियो । उनले पैसा पठाइन् ।

त्यसपछि राजीव मण्डल, असिम आलम, कमलेश गुप्ताको नामा ४०/४० हजार पठाउन भनियो । ९० लाख आउँछ भनेकाले उनले पैसा पठाइरहिन् ।

ठूलो रकमको प्रलोभनमा परेकी उनलाई फेरि ज्योती विकास बैंकमा खाता रहेका गंगा बिसीका नाममा ६ लाख ५० हजार पठाउन भनियो । 

गान्दिप गौतमका नाममा ५ लाख, २ लाख ५० हजार, ३ लाख ५० हजार गरेर ११ लाख गर्दै २० जना व्यक्तिको नाममा कुल २९ लाख ४० हजार रुपैयाँ पठाइसकेकी थिइन् ।

त्यसपछि उनलाई एकमुस्ट २५ लाख पठाउन भनियो । बल्ल उनी आफू ठगिएको महशुस गर्दै प्रहरीकोमा पुगिन् ।

उनले विभिन्न व्यक्तिका नाममा बैंक खाता, आईएमई, सीटी एक्सप्रेस, प्रभु मनी ट्रान्सफरमार्फत पैसा पठाएको अनुसन्धानमा देखिएको छ ।

‘उहाँ आफूसँग भएको पैसा सबै पठाएपछि मात्र प्रहरीको आउनुभएको हो,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले लोकान्तरसँग भने, ‘उहाँ कसैलाई नभनिकन पैसा पठाउँदा र अनलाइनमा चिनजान भएका व्यक्तिहरूको विश्वास गर्दा ठगिनुभएको देखिन्छ ।’

पछिल्लो समय यसरी अनलाइनमार्फत ठगिएँ भन्दै उजुरी दिनेको संख्या बढेको प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए । 

‘अनलाइनबाट ठगी भएका भन्ने उजुरीहरू दैनिक वृद्धि भइरहेका छन्,’ एसपी कोइरालाले लोकान्तरसँग भने, ‘एक महिनामा ७० वटा निवेदन महाशाखामा आएका छन् ।’ 

उनका अनुसार अधिकांश अनलाइनमा चिठ्ठा पर्‍यो भन्ने प्रलोभनमा ठगिएकाहरू छन् ।

कमेन्ट गर्नुहोस्