२२ जेठ २०८३, शुक्रबार

खोरमा लडिरहेको एक बिरामी चितुवा, जो मृत्युसँग लडिरहेछ

फागुन १०, २०७८
खोरमा लडिरहेको एक बिरामी चितुवा, जो मृत्युसँग लडिरहेछ

बागलुङ नगरपालिका–३, पाखाथरबाट बिरामी अवस्थामा शनिवार उद्धार गरिएको चितुवालाई औषधोपचारसहित हेरचाहमा राखिएको छ । 

अन्दाजी डेढ वर्षको उक्त चितुवा सिकिस्त भई डिभिजन वन कार्यालयको खोरमा लडिरहेको छ । 

सहायक वन अधिकृत मदन कँडेलले चितुवाको स्वास्थ्य स्थिति शुरूको तुलनामा सुधार हुँदै गएको बताए । 

पशु चिकित्सक प्रियंका भण्डारीसहितको प्राविधिक टोलीले सोमवार चितुवाको प्राथमिक उपचार गरेका थिए । 'उपचारले निको हुन्छ कि आशा छ हेरौँ, हाम्रो प्रयास अन्तिमसम्म बचाउनेमा हुन्छ,' उनले भने । 

शरीरमा कुनै ठूलो चोट नदेखिए पनि चितुवाको घाँटीदेखि माथिको भाग चलेको छैन । जसले गर्दा चितुवाले केही खान सकेको छैन । औषधि पनि सुईबाट दिइएको छ । सोमवारदेखि बल्लतल्ल पानीसम्म खान थालेको जनाइएको छ ।

चितुवाको टाउकोमा मानिसले कुनै वस्तुले हिर्काएको या कतै खोरमा च्यापिएको हुन सक्ने चिकित्सकको अनुमान छ ।

बिरामी भई अचेत अवस्थामा बाटोमा भेटिएपछि स्थानीयवासीले उद्धारका लागि कार्यालयलाई खबर गरेका थिए । उपचारले निको भएमा चितुवा आफ्नै बासस्थानमा फर्कनेछ । 

आहाराको खोजीमा बस्तीतिर छिर्दा चितुवा र मानिसबीच द्वन्द्व बढ्ने गर्छ । घरपालुवा पशुपक्षीदेखि मानिसमाथि नै चितुवाले हिंस्रक व्यवहार देखाउने गर्छ । त्यसबाट जोगिन मानिसले चितुवालाई पनि निसाना बनाउँछन् ।

त्यसको किसिमको अवस्था आउन नदिन वन्यजन्तु–मानवबीचको द्वन्द्व घटाउने उपायहरूको खोजी गर्नुपर्ने सहायक वन अधिकृत कँडेलले बताए । 

salt training

कमेन्ट गर्नुहोस्