२३ जेठ २०८३, शनिबार

कसैको उपनिवेश नभएको शान्तिप्रिय नेपाल महाशक्ति अधिनस्थ हुनुपर्ने खतरा उत्पन्न : वामदेव गौतम

फागुन १०, २०७८
कसैको उपनिवेश नभएको शान्तिप्रिय नेपाल महाशक्ति अधिनस्थ हुनुपर्ने खतरा उत्पन्न : वामदेव गौतम

राष्ट्रियसभा सदस्य तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले कसैको उपनिवेश नभएको शान्तिप्रिय नेपाल अब महाशक्ति अधिनस्थ हुनुपर्ने खतरा उत्पन्न गराइएको बताएका छन् ।

अमेरिकी सहयोगको एमसीसी विवाद चर्किएका बेला मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै गौतमले यस्तो खतरनाक विषयलाई आँखा चिम्लेर नेपालको संविधानलाई बेवास्ता गर्दै हस्ताक्षर गर्ने व्यक्तिलाई अहिले नसकिए पनि कुनै दिन नेपाली जनताले कारवाही गरेर छाड्ने जनाएका छन् ।

‘यो सम्झौतालाई परिभाषित गर्ने संघीय कानून नबनिसकेको र देशव्यापी रूपमा जनताले विरोध गरिरहेको अवस्थामा संसदबाट अनुमोदन गराउन प्रतिनिधिसभा समक्ष प्रस्तुत गर्नाले पनि यो सरकार नेपाल र नेपाली जनताप्रति इमान्दार छैन भन्ने कुरा स्पष्ट भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यो सम्झौता नेपालको संविधानको धारा २७९ को उपधारा (१) बमोजिम भनि प्रस्तुत गरिएको छ तर त्यस धारामा अनुमोदन, सम्मिलन र स्वीकृति वा समर्थन संघीय कानून बमोजिम हुनेछ भनिएको छ । खै संघीय कानून ?’

सम्झौतामा एमसीसीलाई माथि र नेपाललाई अपमान हुने गरी तल पारिएको नेता गौतमले जनाएका छन् । ‘त्यति मात्र होइन, उद्देश्यमूलक ढंगले यो परियोजनामा नेपालको लगानीलाई मूल्यहीन बनाइएको छ । हरेक बुँदाबुँदामा दुवै पक्षलाई सम्मानजनक हुने गरी भाषा प्रयोग हुनुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु । यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्नेछ ।’

salt training

कमेन्ट गर्नुहोस्