
सहकारी संस्थाका निक्षेपकर्ता सदस्यहरूको रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका–३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष र उपाध्यक्षलाई पक्राउ गरेको छ ।
सहकारी सञ्चालक समितिका अध्यक्ष ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष ५७ वर्षीय शिव पाण्डेलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
संस्थामा बचत तथा आवधिक खाता खोली जम्मा गरेको रकम सहकारीका सञ्चालकले हिनामिना गरी आफूखुशी संस्थाको खातामा नराखी परिवारका सदस्य र आफन्तका नाममा राखेर १५ जना निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ रकम दुरुपयोग गरी भुक्तानी फिर्ता माग्दा सहकारी संस्थामा ताला लगाई फरार रहेको जाहेरीपछि प्रहरीले पक्राउ गरेको हो ।
ब्यूरोले अन्य बचतकर्ताले सहकारीबाट निक्षेप तथा ब्याज रकम नपाई कानूनी कारवाही गर्नुपर्ने भएमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।