
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने बताएका छन् ।
अध्यक्ष ओलीको बुधवार परेको ७१औं जन्मदिनको अवसरमा भक्तपुरको जर्मन होम्स हस्पिटालिटी गठ्ठाघरमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले २०६२ सालदेखि अहिलेसम्म विभिन्न कार्यक्रममा बोलेको र भोगेका विषयलाई सञ्जय खड्का र लोग्सरी कुँवरले संकलन र सम्पादन गरेको पुस्तक ‘समवेत दृष्टि’को विमोचनमका क्रममा उनले सो कुरा बताए ।
सो पुस्तक अध्यक्ष ओली, उनका पिता मोहनप्रसाद र पत्नी राधिकाले विमोचन गरेकी हुन् ।
‘म त फाँसी दिन माग गरिएको मान्छे, जनताको माया, सद्भाव र सहयोगले जेलमुक्त भएँ, म बिरामी पर्दा जनताले मठमन्दिर, गुम्बामा पूजा, भाकल गरेर, शुभेच्छा दिएर आफ्नो स्वास्थ्यलाभको कामना गर्नुभएको मलाई थाहा छ, जनताको शुभेच्छा र प्रार्थनाले म निको भएँ, मैले जनताबाट असाधारण माया र सहयोग पाएको छु, जनताको मायाले नै राज्य सञ्चालन गर्ने ठाउँमा छु,’ अध्यक्ष ओलीले भने, ‘यो देशका जनता मेरो भगवान् हुन्, जनताभन्दा ठूलो कोही हुँदैन । जनताको माया, स्नेह, आशीर्वाद, जनताको शुभकामना र प्रार्थनाबाट पाएको आशीर्वादबाट पाएको मेरो बाँकी जीवन यही देश र जनताप्रति समर्पित गर्छु ।’
उनले आफ्ना पितातर्फ देखाएर ‘बुवा त अझै तन्नेरीजस्तै हुनुहुन्छ भने म त झन् बूढो हुने कुरै भएन, म ढुक्क छु’ भन्दै उनले आफ्नो जीवन रहेसम्म जनता, राष्ट्र र राष्ट्रियताविरुद्ध कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।
एउटा रुसी कथामा योद्धाले जमिन छाड्दा हारेको र जमिनमा टेकेपछि पुनः विजयी भएको किस्सा सुनाउँदै अध्यक्ष ओलीले भने, ‘अलिकति मौका मिल्यो भने त सर्वोच्च अदालतमा लगेर पनि ४ जना न्यायाधीशले पछार्दा रहेछन् एमालेजस्तो पार्टीलाई तर सधैंभरि उचालेको उचाल्यै हँुदैनौं, फेरि जमीनमा टेकिहाल्छौं र जनतासँग एकाकार भइहाल्छौं अनि एकछिन जालझेल, षड्यन्त्र, तिकडम गरेर केही गुट मिलेर एकपटक लडाउँदैमा मोर्चाको हारलाई युद्धको हार भन्न सकिन्न, हामी समग्र युद्ध हारेका होइनौं, एक मोर्चा हारेका हौं, फेरि जित्नेछौं ।’
केही गुटहरू मिलेर एकछिन जालझेलबाट एकपटक लडाउँदैमा जीवन त सकिँदैन नि भन्दै ओलीले एमाले फेरि जनताको साथबाट आउने दाबी गरेका छन् ।