काठमाडौं, १८ पुस — विमानको ककपिटमै रक्सी पिएर टिल्ल भएका विमानचालकलाई उडान भर्नु केही छिनअघि पक्राउ गरिएको छ ।

क्यानाडामा आइतवार भएको यो घटनापछि उक्त ३७ वर्षीय विमानचालकको रगत परीक्षण गरिएको थियो । सीमाभन्दा तीन गुणा बढी रक्सी उनको रगतमा भेटिएको थियो ।
काल्गेरीबाट मेक्सिको जान लागेको सनविङ विमानलाई पछि अर्कै पाइलटले उडाएका थिए । विमानमा सयभन्दा बढी यात्रु थिए ।
विमानका कर्मचारीले पाइलटको व्यवहार शंकास्पद देखेपछि अधिकारीहरूलाई खबर गरेका थिए । उनी झल्लु भएर ढलेपछि उनलाई ककपिटबाट बाहिर निकालिएको थियो ।
उनीविरुद्ध अशक्त अवस्थामा पनि विमान चलाउन खोजेको आरोपमा मुद्दा दायर गरिएको छ ।
उनको नाम मिरोस्लाभ ग्रोनिच भएको र उनी स्लोभाकियाका नागरिक भएको प्रहरीले बताएको छ ।
उनलाई विमान उडाउन केही समयका लागि प्रतिबन्ध लगाइने बताइएको छ ।
बीबीसी