
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको ८ महिनापछि सत्ता गठबन्धन गम्भीर संकटमा परेको छ ।
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने विषयलाई लिएर गठबन्धनमा खटपट भएको हो ।
प्रधानमन्त्री देउवाले कुनै पनि हालतमा एमसीसी पास गर्ने अडान लिएपछि गठबन्धन भत्किने अवस्थामा पुगेको हो ।
देउवा एमसीसीबाट कुनै पनि हालतमा पछि नहट्ने र माओवादी केन्द्र तथा नेकपा एस पास गर्न नदिने रणनीतिमा लागेपछि गठबन्धनमा गम्भीर खटपट भएको हो ।
एमसीसीको विषयलाई लिएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री देउवासँग बिहीवार छलफल गरेका थिए ।
देउवाले गठबन्धन टुटे पनि एमसीसीबाट पछि हट्न नसक्ने बताएको कांग्रेस स्रोतको दाबी छ ।
‘गठबन्धन बनेको ८ महिनामा देउवा र प्रचण्डबीच तिक्ततापूर्ण कुराकानी भयो, गठबन्धन टुट्ने निश्चितजस्तै देखियो,’ स्रोतले लोकान्तरसँग भन्यो ।
गठबन्धन टुटे पनि, प्रधानमन्त्री पद नै गए पनि एमसीसी पारित गराइछाड्ने देउवाको अडानपछि प्रचण्डले आफूले सघाउने नसक्ने जवाफ दिएको स्रोतको दाबी छ ।
प्रचण्डसँगको तिक्ततापूर्ण छलफलपछि प्रधानमन्त्री देउवाले नेकपा एमालेका नेताहरूसँग छलफल गरेका छन् ।
बिहीवारका लागि तय भएको प्रतिनिधि सभा बैठक स्थगित गरेर देउवाले प्रतिपक्षी दलका नेता केपी शर्मा ओली लगायतसँग छलफल गरेका हुन् ।
‘प्रतिपक्षी दलसँग सहमति कायम गर्न’ भन्दै देउवाले संसद् बैठक स्थगित गर्न सभामुखसँग आग्रह गरेका थिए ।
संसद् बैठक स्थगित भएपछि देउवा संसद् भवनमा रहेको प्रमुख प्रतिपक्षी दलका नेताको कार्यकक्षमा पुगेका थिए ।
नेपाली कांग्रेस र नेकपा एसका वरिष्ठ नेताहरूले गठबन्धन टुट्न लागेको संकेत दिएका छन् । संसद् स्थगित भएपछि संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले आवश्यकताअनुसार गठबन्धन बन्ने र टुट्ने कुरा सामान्य रहेको बताए ।
‘गठबन्धन आवश्यकता अनुसार बन्छन्, बिग्रन्छन्, यो अस्थायी कुरा हो । देश र राष्ट्रहितको कुरा छाड्दैनौँ,’ बिहीवार संसद् भवनबाट बाहिरिने क्रममा खनालले भने, ‘केही शक्ति विदेशीका सामु झुकेका छन्, एमसीसीमा कुरा मिल्दै मिल्दैन ।’
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि गठबन्धन भत्किन लागेको बताएका छन् ।
गृहजिल्ला तनहुँ पुगेर पौडेलले माओवादी र नेकपा एसका कारण एमालेको माग पूरा गर्नुपर्ने अवस्था आएको टिप्पणी गरे ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको थियो ।
सर्वोच्च अदालतको परमादेशमा कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि गठबन्धन सरकार बनेको थियो ।
पछिल्लो समय कांग्रेसका नेताहरूले एमसीसीमा माओवादी र समाजवादीले विपक्षमा मत हाले गठबन्धन तोड्नुपर्ने बताउँदै आएका थिए ।