
युक्रेनमाथि आक्रमण गरेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई निन्दा वा आर्थिक प्रतिबन्धले कुनै फरक नपार्ने मस्कोमा रहेका राजनीतिक विश्लेषक अलेक्जेन्डर बाउनोभले बताएका छन् ।
ट्विटरमा एउटा थ्रेड लेख्दै उनले सन् २०१४ मा क्राइमियामाथि रुसले गरेको आक्रमण र अहिलेको आक्रमणमा भिन्नता रहेको बताए ।
उनका अनुसार,
सन् २०१४ मा क्रेमलिन (रुस सरकार) ले क्राइमिया हात पार्ने विषयमा लोकप्रिय समर्थन रहेको देखाउनुलाई महत्त्वपूर्ण ठानेको थियो । त्यसैले त्यतिखेर आम प्रदर्शन, सांगीतिक समारोह र सेलेब्रिटीका खुला पत्रहरू सार्वजनिक गरिएका थिए । सरकारी कर्मचारी र विद्यार्थीहरूलाई यसका लागि परिचालित गरिएको थियो ।
यसपालि यस्तो कुनै काम गरिएको छैन । पुटिनलाई जनताले कदमको समर्थन गर्छन् कि गर्दैनन् भन्ने मतलब छैन । जनताको समर्थन चाहिने शासकको जस्तो व्यवहार उनी देखाइरहेका छैनन् । भविष्यका इतिहासकार र पाठकको स्वीकृतिलाई मतलब गर्ने व्यक्ति जस्तो उनी लाग्छन् ।
त्यसैले उनलाई समर्थन सूचकांक, निन्दाको वक्तव्य र आर्थिक प्रतिबन्धले प्रभावित तुल्याउन निकै गाह्रो छ ।