३० असार २०८३, मंगलबार

वायुसेवा निगमका उडान सुरक्षा कमाण्डर निलम्बित, अनधिकृत व्यक्ति प्रवेशका विषयमा छानबिन हुँदै

फागुन १२, २०७८
वायुसेवा निगमका उडान सुरक्षा कमाण्डर निलम्बित, अनधिकृत व्यक्ति प्रवेशका विषयमा छानबिन हुँदै

नेपाल वायुसेवा निगमको दोहा उड्ने तयारीमा रहेको जहाजमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा निगमले विमानस्थलका सुरक्षा कमाण्डर ध्रुवराज थापालाई निलम्बन गरेको छ । 

९ फागुन राति काठमाडौंबाट दोहा उड्ने तयारीमा रहेको निगमको एयरबस ३३० वाइडबडी नामक ९एन एएलवाई कलसाइनको जहाजमा अनधिकृत व्यक्ति फेला परेकोले सुरक्षा व्यवस्थापनमा अत्यन्तै लापरवाही गरेको देखिएको भन्दै निगमले थापालाई सेवाबाट निलम्बन गरेको हो । 

निगमले उक्त उडान सुरक्षामा भएको कमजोरीको विषयमा क्याप्टेन विजय लामाको संयोजकत्वमा ६ सदस्यीय एक छानबिन उपसमितिसमेत गठन गरेको छ । 

निगमका वरिष्ठ क्याप्टेन लामाको संयोजकत्वमा तीन दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने गरी समयसीमा तोकिएको छ । उक्त उपसमितिबाट छानबिन भइरहेको निगमले जानकारी दिएको छ ।

निगमले ११ फागुनमा गठन गरेको उक्त छानबिन उपसिमितिले १३ फागुन (शुक्रवार)सम्ममा प्रतिवेदन बुझाइसक्नुपर्ने समयसीमा तोकिएको छ । 

छानबिन उपसमितिका सदस्यहरू निगमकै यात्रुसेवा विभागका निर्देशक, फ्लाइट रिभ्यू कमिटीका निर्देशक, सवारी व्यवस्था विभागका निर्देशक छन् । उपसमितिको सदस्य सचिव निगमकै यात्रु व्यवस्था महाशाखा, यात्रु सेवा विभागका उपनिर्देशक रहेको निगमले जानकारी दिएको छ ।

छानबिन उपसमितिलाई अनधिकृत व्यक्ति निगमको जहाजमा फेला परेको सम्बन्धमा के कसरी सो व्यक्ति निगमको जहाजमा प्रवेश गरेको र कसको लापरवाहीले भएको सोको सम्बन्धमा आवश्यक कारवाहीका लागि सिफारिश गर्नुपर्ने कार्यगत शर्त छ । 

यसका साथै उक्त दिनको सुरक्षा व्यवस्थामा भएको कमी कमजोरीहरू अध्ययन गरी आगामी दिनमा सो घटना पुनः नदोहोरिन निगमले अवलम्बन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन पेश गर्नुपर्ने कार्यगत शर्त समेत छानबिन समितिलाई तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्