
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्टस् फाउन्डेसनको संयुक्त आयोजनामा गत माघ २८ गते शुरू भएको काठमाडौं ट्रिएनाले–२०७७ चौथो संस्करणमा प्रत्यक्ष सहभागिता फागुन १७ गतेबाट शुरू हुने भएको छ ।
२०७७ पुसमा हुने भनिएको ट्रिएनाले कोभिड–१९ संक्रमणका कारण शुरूमा तोकिएको मितिमा हुन नसकेर गत माघ २८ गतेबाट शुरू भएको हो ।
ट्रिएनालेमा भिन्नभिन्न विषयवस्तु समेट्ने गरी क्युरेट गरिएका ३०० भन्दा बढी कलाकृतिहरू काठमाडौंका सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी ५ ठाउँमा प्रदर्शन भइरहेका छन् ।
चैत १७ गतेसम्म चल्ने काठमाडौं ट्रिएनाले २०७७ का सम्पूर्ण कार्यक्रम भर्चुअल र भौतिक दुवै किसिमबाट सहभागिता जनाउन सकिने गरी हाइब्रिड तरिकाले सञ्चालन भइरहेको आयोजकको भनाइ छ । यसको भर्चुअल उद्घाटन गत माघ २८ गते भएको थियो ।
काठमाडौं ट्रिएनाले २०७७ को आयोजना र सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग २०७७ साल असोज २ गते आधिकारिक सम्झौता नवीकरण भएको सिद्धार्थ आर्टस् फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनले साझेदारीलाई नेपालको कला र संस्कृतिको विकास तथा प्रवद्र्धनका लागि विस्तृत, बहुस्तरीय र बहुक्षेत्रीय आयामको शुरूआत भनेको छ । साझेदारी सिद्धार्थ आर्टस् फाउन्डेसनका संस्थापक तथा निर्देशक संगीता थापाको पहलमा सन् २००९ मा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सव (हालको ट्रिएनालेको संस्करण) बाट शुरू भएको थियो ।
‘अकल्पनीय विश्वव्यापी चुनौतीको सामना गर्नुपरेको यस अवस्थामा यो साझेदारी हाम्रो विविधतापूर्ण समाजको उत्थानका लागि संस्कृतिले खेलेको भूमिका प्रतिको आभारोक्ति हो । यसका साथै यो साझेदारी अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थिति विस्तार गर्ने सम्भावनाको प्रमाण पनि हो,’ फाउन्डेसनको विज्ञप्तिमा भनिएको छ ।
सहकार्यबारे निर्देशक संगीता थापा भन्छिन्, ‘नेपालका असंख्य कलात्मक प्रतिभा र कलाहरू प्रस्तुत गर्न र तिनलाई यस क्षेत्रभन्दा बाहिरका परिदृश्यमा संलग्न गर्न यस सम्झौताले थप अवसर प्रदान गर्नेछ । वस्तुगत, सुरक्षित र समावेशी ट्रिएनालेले नेपालको कला क्षेत्रमा दिगो तथा सकारात्मक प्रभाव पार्न सक्छ । यस्तो कार्यक्रम प्रस्तुत गर्नका लागि हामी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग फलदायी सहकारिताको अपेक्षा गर्दछौं ।’
ट्रिएनालेको चौथौं संस्करणको क्यरुेटोरियल टीममा निर्देशक हङकङस्थित पारा साइटका कला निर्देशक तथा क्युरेटर रहेका कस्मिन कोस्टिनास र सहक्युरेटरद्वय हितमान गुरूङ र शीलाशा राजभण्डारी छन् । संस्थापक अध्यक्षका रूपमा संगीता थापा र कार्यक्रम निर्देशक शरारे बज्राचार्यले दिशानिर्देश गर्ने ट्रिएनाले उपनिवेशवाद, प्रवास र विस्थापन, स्थानीय ज्ञान परम्परा र युरो केन्द्रित दृष्टिकोणबाट कलाको उन्मुक्तिका वरपर रही हुने विमर्शले निर्देशित हुने बताइएको छ ।
‘अनगिन्ती कलात्मक, सामाजिक तथा सामूहिक कथा र संकथनको मिलनबिन्दुका रूपमा रहेको गौरवपूर्ण कार्यक्रम नेपाल मात्र नभई विश्वका ४० भन्दा बढी देशका स्थानीय र सिमान्तकृत कलापरम्पराका कलाकृति प्रदर्शनको थलो समेत हो,’ विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं ट्रिएनाले हंगकंगमा रहेको साझेदार संस्था पारा साइटको सहयोगमा आयोजना भएको हो । कार्यक्रमको प्रथम प्रदर्शनीका रूपमा सन् २०२० मा गार्डेन अफ सिजनस नामक प्रदर्शनी हङकङमा सञ्चालन भइसकेको छ ।
विश्वव्यापी समकालीन कलाका लागि काठमाडौं ट्रिएनाले नेपालको प्रमुख अन्तर्राष्ट्रिय मञ्च हो । पहिले
काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सवको रूपमा परिचित काठमाडौं ट्रिएनालेको यो दोस्रो त्रैवार्षिक संस्करण हो । यसले व्यापक कला प्रदर्शनी र सुदृढ शैक्षिक कार्यक्रममार्फत ज्ञानको आदानप्रदानमा आधारित कलाको स्वस्थ वातावरणको विकासमा ध्यान दिन्छ । ट्रिएनाले प्रदर्शनी पाटन, काठमाडौं र बौद्धका सेरोफेरोमा रहेका ५ ऐतिहासिक तथा सांस्कृतिक महत्त्वका स्थानमा हुन्छ ।
प्रदर्शनीले ४० भन्दा धेरै देशका १०० भन्दा बढी कलाकारलाई समेटेको छ । प्रदर्शनीका साथै ट्रिएनालेमा सर्वसाधारणका लागि क्यूरेट गरिएका सार्वजनिक प्रस्तुति, कार्यशाला, छलफल तथा विचार–गोष्ठी लगायत शृंखलाबद्ध कार्यक्रम पनि छन् । विभिन्न स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा आयोजित यी कार्यक्रम ट्रिएनाले अवधिभर प्रस्तुत गरिने छन् ।
यीे कार्यक्रम २०७६ कात्तिकदेखि नेपाल कला इतिहासको मासिक छलफल शृंखलाबाट र त्यसपछि २०७७ असार महिनामा प्रारम्भ भएको कुराकानी नामक भर्चुअल छलफल शृंखलासँगै निरन्तर भइराखेका छन् ।