०२ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

ओलीतिर नजिकिए देउवा, गठबन्धन धरापमा

फागुन १३, २०७८
ओलीतिर नजिकिए देउवा, गठबन्धन धरापमा

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पारित गर्न नसघाउने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग चिढिएका छन् । यही विषयले विवाद हुँदा गठबन्धन नै धरापमा परेको छ भने देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग नजिकिएका छन् । पछिल्ला दिनमा देउवाले एमालेसँगको छलफललाई तिव्रता दिएका छन् भने बैठकमा सहभागी नेताहरुले दिएको अभिव्यक्तिले गठबन्धन अब अघि बढ्न नसक्ने विश्लेषण हुन थालेको छ । 

यसैबीचमा माओवादीले र समाजवादीले सरकार छाड्ने निष्कर्ष समेत निकालिसकेका छन् । माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले अब आ–आफ्नो बाटो लाग्ने बेला भएको बताएका छन् । त्यसका लागि सहमति मै छुट्टिने भनेर देउवासँग कुराकानी भइरहेको उनको जिकिर छ । 

बिहीबारको प्रतिनिधिसभा बैठक नै स्थगित गरेर प्रधानमन्त्री देउवाले एमालेसँग दुई चरणमा छलफल गरेका थिए । पहिला संसद भवनमा छलफल गरेका देउवाले दोस्रो चरणमा राति बालुवाटारमा गरेका थिए । सो छलफलमा एमसीसीमा एमालेको साथ खोजिनुका साथै नयाँ गठबन्धन बनाएरै अघि बढ्नेसम्मको कुराकानी भएको नेताहरुको भनाइ छ । 
००००
संसद बैठक स्थगित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि वान अन वान वार्ता भएको थियो । पछि दुवै पार्टीका दोस्रो तहका नेताहरू सहित छलफल भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष ओलीलाई भेटेर बाहिरिएपछि प्रचण्ड ओलीको कार्यकक्षमा पुगेका थिए । भेटमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल तथा माओवादीबाट नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत समेत सहभागी थिए ।
००००
एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अध्यक्ष केपी शर्मा ओलीको देउवा र प्रचण्डसँगको छलफल सकारात्मक भएको बताएका छन् ।
प्रधानमन्त्री देउवा र प्रचण्डसँग एमाले अध्यक्ष ओलीले बिहीवार संसद भवनमा भेटवार्ता गरेका थिए ।

भेटवार्ताको क्रममा एमसीसी र राष्ट्रिय राजनीतिको सम्बन्धमा तथा संसदको गतिरोध अन्त्य गर्ने विषयमा व्यापक छलफल भएको उपाध्यक्ष नेम्वाङले बताए । छलफल सकारात्मक भएको उनले बताए ।
छलफललाई अझै निरन्तरता दिइने उनको भनाई छ । उनले भने, ‘अध्यक्ष र हामी नेताज्यूहरू छुट्टाछुट्टै एक्लाएक्लै र हामी सबै बसेर हामी बीचमा छलफल भयो । एमसीसीको बारेमा, राष्ट्रिय सन्दर्भमा, संसदको गतिरोधको सन्दर्भमा व्यापक छलफल हुँदा कमरेड प्रचण्डहरूसँग सकारात्मक रूपमा छलफल भएको छ । त्यसलाई निरन्तर अगाडि बढाउने सल्लाह भएको छ ।’
००००
यता नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनबाट अब पार नलाग्ने निष्कर्ष पुगेको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीचको छलफलबाट बाहिरिने क्रममा थापाले एमसीसीको बारेमा गठबन्धनका दल एक ठाउँमा नरहेकाले गठबन्धनबाट पार नलाग्ने निष्कर्षमा आफूहरू पुगेको बताएका हुन् ।
००००
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीवार भएको दोस्रो चरणको छलफलमा पनि वर्तमान अवस्थाबारे गम्भीर समीक्षा भएको बताइएको छ।
संसद भवन नयाँ बानेश्वरमा दिउसो भएको छलफलमा एमालेका माग सम्वोधन गर्न देउवा राजी भएपछि साझ पुनः छलफल भएको हो । 

प्रधानमन्त्री निवासमा करिब २ घण्टा चलेको छलफलमा संसद सुचारु गर्ने विषयमा छलफल केन्द्रीत रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 
बैठक सकिएसँगै एमाले नेताहरु भने कुनै प्रतिक्रिया नदिइ बाहिरिएका थिए । बैठकपछि सरकारका प्रवक्ता कार्कीले प्रधानमन्त्रीले ६ महिनादेखि अवरुद्ध संसद व्यवस्थित रुपमा सञ्चालन गर्न पहल गरेको जानकारी दिए । 
‘प्रधानमन्त्रीले ६ महिनादेखि अवरुद्ध संसद व्यवस्थित रुपमा सञ्चालन गरौं, सबैको सहयोगमा संसदबाट एमसीसीलाई अनुमोदन गरौं भन्नु भयो’, उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीले पुरानै कुरा राख्नु भएको छ। जुन कारणले संसदमा प्रवेश गर्न सकेका छैनौं त्यसको निराकरण नहुँदासम्म संसदमा आएर विचार राख्न कठिनाइ छ भन्नु भएको छ ।’
००००
एमसीसी विवाद चर्किएका बेला प्रधानमन्त्री शेरबहादुर देउवालाई र जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच पनि बालुवाटारमा भेटवार्ता भएको छ । बालुवाटारको भेटमा देउवा र भट्टराईबीच एमसीसी पारित गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
००००
प्रधानमन्त्री देउवाको आग्रहमा बिहीबारको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको थियो ।
बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।
देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफलका लागि भन्दै सभामुखसँग समय मागेको सचिवालय स्रोतले जानकारी दियो ।
००००
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेता र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भिडियो संवाद भएको छ ।
नेपालसँग सीपीसीका विदेश विभाग उपप्रमुख चेन झाओले भिडियो सम्वाद गरेको चिनियाँ कम्युनिष्ट पार्टीले जनाएको छ । भिडियो संवादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको बताइएको छ ।
००००
जनता समाजवादी पार्टीको १९ सांसदमध्ये ९  जना सांसदले मिलेनियम च्यालेन्ज कर्पोरेसनको पक्षमा मतदान गर्ने भएका छन्। जसपाका संघीय परिषदका अध्यक्ष समेत रहेका डा बाबुराम भट्टराईलाई ९ जना सांसदहरूले हस्ताक्षर गरेर बुझाइसकेका छन्। त्यसैगरी ४ जना सांसदहरूले पक्षमा मतदान गर्ने भनेर भट्टराईलाई आश्वासन दिएका छन्। त्यसै गरी ६ जना सांसदहरू विपक्षमा देखिएका छन्।
००००
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भीम रावलले शक्ति राष्ट्रहरूको चपेटामा देश परेको बताएका छन् । उनले एमसीसीमा राष्ट्रहित विपरीत धेरै प्रावधानहरू रहेको भन्दै त्यो नसच्याइ नेकपा एमाले जस्तो जबजको सिद्धान्त र महाधिवेशनबाट पारित कार्यक्रमहरू बोकेको पार्टी एमसीसीको समर्थनमा जान नहुने बताएका हुन् । 
सांसद रावलले नेकपा एमालेको नीतिमा भएका कुराहरूले पनि एमसीसीको समर्थन गर्न नदिने जिकिर गरे ।
००००
एमसीसीको विरोधमा उत्रिएका एक प्रदर्शनकारी अश्रुग्यासको सेलले लाग्दा घाइते भएका छन् । प्रहरीले हानेको अश्रुग्यासको सेल टाउकोमा लागेपछि उनी घाइते भएका हुन् । 
घाइतेको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ ।
००००
पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७४३ नमूना परीक्षणमध्ये १५१ पीसीआर र १६७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै सो अवधिमा १ जनाले ज्यान गुमाएका छन् ।
००००
नेपाल वायुसेवा निगमको दोहा उड्ने तयारीमा रहेको जहाजमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा निगमले विमानस्थलका सुरक्षा कमाण्डर ध्रुवराज थापालाई निलम्बन गरेको छ । 

९ फागुन राति काठमाडौंबाट दोहा उड्ने तयारीमा रहेको निगमको एयरबस ३३० वाइडबडी नामक ९एन एएलवाई कलसाइनको जहाजमा अनधिकृत व्यक्ति फेला परेकोले सुरक्षा व्यवस्थापनमा अत्यन्तै लापरवाही गरेको देखिएको भन्दै निगमले थापालाई सेवाबाट निलम्बन गरेको हो ।
००००
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता दीपक मिश्र र पुण्यप्रसाद खतिवडाले महाभियोग प्रस्तावविरुद्ध दायर गरेको रिट बिहीवार सर्वोच्च अदालतमा दर्ता भएको हो ।
००००
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रूपैयाँभन्दा बढी बजेट माग गरेको छ ।
आयोगले २०७९ वैशाख ३० गते हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रूपैयाँ माग गरेको हो ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न ७ विभागको प्रमुख मनोनयन गरेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुरूप विभिन्न व्यक्तिलाई विभाग प्रमुखको जिम्मेवारी दिएका हुन् ।

महामन्त्री राजेन्द्र गुरुङलाई संयोजित संगठन समन्वय, प्रवक्ता मोहन श्रेष्ठलाई प्रचार, प्रवक्ता गोपाल दाहाललाई सम्पर्क समाज समन्वय प्रवक्ता, ज्ञानेन्द्र शाहीलाई सुशासन विभागको प्रमुखमा मनोनयन गरिएको छ ।

केन्द्रीय सदस्य आनन्द अधिकारीलाई प्रवास, लक्ष्मी संग्रौलालाई वाणिज्य क्षेत्र समन्वय र दमन बस्नेतलाई खेलकुद विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको राप्रपाद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्