
इटहरी, २० असार — स्थानीय तहको निर्वाचनमा काठमाडौंमा राम्रै चर्चा बटुलेको विवेकशील नेपाली दलको दोस्रो चरणको निर्वाचनमा चाहिँ विजोग भएको छ ।
काठमाडौंमा स्टकोट चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकी रञ्जु दर्शनाले राम्रै भोट ल्याएकी थिइन् । काठमाडौैंमा विवेकशील तेस्रो भएको थियो । तर रञ्जुको त्यही लय इटहरीमा देखिएन ।
इटहरीमा साझा पार्टीका मेयर र उपमेयरलाई समर्थन गरेको विवेकशील पार्टीले इटहरीको २० नम्बर वडामा विवेकशीलकै उम्मेदवार उठाएको थियो । वडाध्यक्ष उठेका ध्रुव भण्डारीले जम्मा ८ मत ल्याएपछि विवेकशीलको विजोग देखिएको हो ।
भण्डारीले मुठ्ठी कँसेको हात चुनाव चिन्ह लिएर उठेका थिए ।

तर इटहरीको वडा नम्बर २० मा ४६२८ मत खसेकोमा भण्डारीले ८ भोट मात्रै पाए । खसेको मतको दश प्रतिशत नल्याएमा जमानत नै जफत हुने व्यवस्था छ । उनले जमानत जफत गराएका छन् ।
विवेकशिलले जमानत जोगाउन ४६३ मत ल्याउन जरुरी थियो । तर विवेकशिलले ०.१७३ प्रतिसत मत मात्रै ल्यायो ।
काठमाडौंको मेयरमा ‘इस्टकोट’ चुनाव चिन्ह लिएर चम्किएको विवेकशील नेपाली दलले इटहरीको वडामा मुठ्ठी कसेको हात चुनाव चिन्ह ल्याएर उठ्दा खासै प्रभाव पार्न सकेन ।
रन्जुले समेत मत तान्न सकिनन्आफूले उठाएको स्थानीय उम्मेदवार वडा स्तरीय भएपनि विवेशील सुनसरीले भने वडामै केन्द्रिय नेताहरु उतारेर प्रचार तिव्र पारेको थियो ।
विवेकशील नेपाली दलका केन्द्रिय व्यवस्थापिका प्रमुख गोविन्द नारायण र काठमाण्डौको मेयर रेसमा सानदार मत ल्याएकी रन्जु दर्शना समेत इटहरीमै आएर आफ्ना वडाध्यक्षका उम्मेदवार ध्रुव भण्डारीको प्रचार गरेका थिए ।
सामाजिक सञ्जाल र घरदैलो प्रचारमा राम्रो खटेको विवेकशील नेपाली दलले इटहरीमा धेरै मतदाताको मन जित्न सकेन ।

‘इटहरीमा रन्जु दर्शना आएर पनि मत तान्न सकिनन् जबकि रन्जुका धेरै समर्थकहरु इटहरीमा थिए’, इटहरीका युवा देवराज श्रेष्ठ भन्छन, ‘काठमाडाैंको पुरा महानगरको मत माग्दा रन्जुले आफ्नो राम्रो प्रदर्शन गरिन् तर इटहरीको एउटा वडामा मात्रै भोट माग्दा पनि विवेकशीलले जमानत समेत जोगाउन सकेन ।’
काठमाडाैंमा सामाजिक अभियानसँगै राजनीतीमा विवेकशिल आएकोले धेरैले पत्याएको बताएका श्रेष्ठ इटहरीमा विवेकशीलको आधारभूमि नबनेकोले कम मत आएको तर्क गर्छन् ।