२६ असार २०८३, शुक्रबार
एमसीसी विवाद

दोहोरो दबाबमा प्रचण्ड-नेपाल, एमालेसँग आश्वस्त हुन सकेन कांग्रेस

फागुन १४, २०७८
दोहोरो दबाबमा प्रचण्ड-नेपाल, एमालेसँग आश्वस्त हुन सकेन कांग्रेस

संसदमा पेश भएको एमसीसी सम्झौताबारे पार्टीको पोजिसन बनाउनको लागि राजनीतिक दलका नेताहरू गृहकार्यमा जुटेका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सकेसम्म गठबन्धनमै रहेका दलका नेताहरूलाई लगाएर एमसीसीको पक्षमा ल्याउने रणनीति बनाएको छ ।

गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूबाट एमसीसीमा सहयोग पाउने पूर्ण विश्वासमा नभएको कांग्रेसले समानान्तर रूपमा संसदको प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग पनि छलफल चलाइरहेको छ ।

कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरुले शुक्रबार राति अबेरसम्म छलफल गरे पनि  निष्कर्षमा पुग्न सकेका छैनन् । 

शुक्रबार  दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार दिउँसोसम्म एमसीसीको पक्षमा तयार हुन प्रचण्डलाई अल्टिमेटम दिएको कांग्रेसका नेताहरु बताउँछन् । 

एमसीसीमा सहयोग गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राखेको शर्त  पूरा गर्न त्यति सजिलो नभएपछि गठबन्धन भित्रकै दलको सहयोगमा एमसीसी अनुमोदन गराउन पाए सहज हुने कांग्रेस शीर्ष नेतृत्वको विश्लेषण छ ।

एमालेले  एमसीसीमा  कांग्रेसलाई सघाउनको लागि सभामुख हटाउनुपर्ने नभए एमालेले संसद सचिवालयमा पठाएको पत्रअनुसार १४ जना सांसदको कारबाहीको सूचना टाँस गर्नुपर्ने एमालेको शर्त छ ।

तर, कांग्रेसका लागि यो शर्त पूरा गर्न सहज भने छैन । एमाले शर्त हेर्दा बाहिर एमसीसीकै पक्षमा देखिने तर, अप्ठ्यारो शर्त राखेर आन्तरिक रूपमा भने एमसीसीको विपक्षमा हो कि जस्तो पनि बुझिएको कांग्रेसका नेताहरू बताउँछन् ।

कांग्रेसका एक नेता भन्छन्, ‘एमसीसी दुई पार्टी  मिलेर अनुमोदन गरौं । त्यसपछिका  राजनीतिक निर्णयहरू दुई पार्टीको सहकार्यमै गर्ने प्रस्ताव प्रधानमन्त्रीको छ । तर, एमालेले अहिलै हातहातै सबैकुरा हुनुपर्छ भन्नुले एमसीसीको पक्षमा सहयोग गर्ने प्रस्ट मनसाय बुझिएन ।’

कांग्रेस र एमालेका नेताहरुले आज पनि छलफल गर्ने बताएका छन् । माओवादी अध्यक्ष प्रचण्ड भने आन्तरिक छलफलमा जुटेका छन् ।

सत्ता गठबन्धनमा रहेका दलका नेताहरु प्रचण्ड र माधव नेपाल भने एमालेलाई फेरि शक्तिमा फर्कन नदिने रणनीतिमा छन् । 

एमसीसीमा समर्थन पनि गर्न नसक्ने र कांग्रेसलाई एमालेसँग सहकार्य गर्ने अवस्थाबाट पनि रोक्नुपर्ने दोहोरो दबाबमा प्रचण्ड र नेपाल छन् ।

गठबन्धन जोगाउने अन्तिम प्रयासका रूपमा एमसीसीसम्बन्धी व्याख्यात्मक संकल्प प्रस्ताव पनि एमसीसीसँग संसदबाट पास गर्ने र संसद बैठक बहिस्कार गरेर कांग्रेस र  लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको मात्रै उपस्थितिमा एमसीसी अनुमोदन हुन दिने विकल्पमा प्रचण्ड र माधव नेपालले आन्तरिक छलफलमा रहेको उनीहरु निकट नेताहरुले बताएका छन् । 

‘नेताहरू सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने उपायको बारेमा छलफल गरिरहनुभएको छ’, माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भने ।

salt training

कमेन्ट गर्नुहोस्