
यस वर्षको ‘प्रधानसेनापति खुला म्याराथन’ प्रतियोगितामा तीव्र गतिका धावकको सूचीमा नेपाली सेनाका कृष्णबहादुर बस्नेतले नाम लेखाउन सफल भएका छन् ।
सेना दिवसका अवसरमा शनिवार आयोजित ४२.१९५ किमी दूरीको म्याराथन दुई घण्टा १९ मिनेट ५७ सेकेन्डमा पूरा गरी बस्नेत प्रथम घोषित भएका हुन् ।
बस्नेतले तीन लाख नगद र मोटरसाइकल पुरस्कारका साथै अमेरिकामा हुने वर्ल्ड च्याम्पियनशीपमा भाग लिने अवसरसमेत प्राप्त गरेका छन् ।
प्रतियोगितमा सेनाकै खड्गबहादुर खड्का दोस्रो तथा सशस्त्र प्रहरी बल नेपालका किरणसिंह बोगटी तेस्रो भए । उनीहरूलाई क्रमशः दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो ।
प्रतियोगिताअन्तर्गत पुरुष हाफ म्याराथन प्रतियोगितामा जगेन्द्र राई प्रथम, दिपक अधिकारी द्वितीय र तीर्थकुमार पुन तृतीय भए । उनीहरूलाई क्रमशः ७५, ५० र ३५ हजार नगद पुरस्कार प्रदान गरियो ।

यसैगरी महिलातर्फको हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ प्रथम, राजपुरा पछाई द्वितीय र विश्वरुपा बुढा तृतीय भए । प्रतियोगितमा प्रथम हुने श्रेष्ठलाई ७५ हजार नगद र स्कुटी प्रदान गरियो ।
विजयी प्रतियोगीलाई प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा र युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीलगायतले नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका थिए ।
सैनिक मुख्यालय जंगीअड्डा परिसरको खेल मैदानमा यसअघि म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिताको प्रधानसेनापति शर्माले उद्घाटन गरेका थिए ।
सैनिक सहचारी महिला–पुरुषको १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दा माथिका रथीवृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथनका विजयी प्रतियोगिलाई पनि नगद पुरस्कार एवं प्रमाणपत्र प्रदान गरियो ।

