
नक्कली मह उत्पादन र बिक्री गरेको आरोपमा पक्राउ परेका नरबहादुर श्रेष्ठ दुई लाख रूपैयाँ धरौटीमा छुटेर सम्पर्कविहीन भएका छन् ।
सात हजार ६ सय केजी नक्कली मह र त्यसमा प्रयोग गर्ने केमिकलसहित माघ ७ गते पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा छाडेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले जानकारी दिए । श्रेष्ठ सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–६ का स्थायी बासिन्दा हुन् ।
‘महमा अखाद्य वस्तु मिसावट गरेर बिक्री गरेको पुष्टि भएको छ । १८ लाख जरिवाना मागदाबीसहित सरकारी वकिलको कार्यालयले प्रतिवेदन पठाएको छ । अहिले दुई लाख धरौटीमा छुट्नु भएको हो,’ पौडेलले लोकान्तरसँग भने, ‘तारेखमा आउने गरी धरौटीमा छाडेका हौं ।’
तर, श्रेष्ठलाई प्रहरीले सम्पर्क गर्न खोज्दा भेट्न सकेको छैन ।
पौडेलका अनुसार, बरामद गरिएको महको जाँच गर्दा अखाद्य वस्तु मिसावट भएको पुष्टि भएको र श्रेष्ठविरुद्ध मुद्दा चलिरहेको छ ।
श्रेष्ठले काठमाडौंको ज्याठाबाट नतिजा प्याकेजिङ नामको कम्पनीमार्फत ‘स्पर्श हनी’ ब्राण्डको मह बिक्री गर्दै आएका थिए । प्रहरीको अनुसन्धानअनुसार उनले नक्कली मह काठमाडौं, भक्तपुर र पोखराका नामी रेस्टुरेन्टहरूमा बिक्री गर्दै आएको खुलेको थियो ।
प्रहरीले उक्त कारखानाबाट ६०० थान गुणस्तरहीन तयारी मह, ६ हजार ५०० केजी गुणस्तरहीन कच्चा पदार्थ, ५०० केजी ग्लूकोज, १०० केजी चिनीका साथै मह बनाउन प्रयोग हुने मेसिनहरू बरामद गरेको थियो ।
उनैले सञ्चालन गरेको स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रालि र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालिको नाममा ३ वर्ष पुराना बिस्कुट पिसेर श्रेष्ठले बटर चकलेट, काजु कुकिज बनाई बिक्री गर्ने गरेको प्रहरीले फेला पारेको थियो ।
अनुसन्धानमा श्रेष्ठले मिति गुज्रेको पाउरोटीलाई समेत चिकेन रोष्ट बनाउन प्रयोग गर्ने गरेको खुलेको छ ।
प्रहरीले खाद्य तथा गुण नियन्त्रण विभागको उपस्थितिमा फ्याक्ट्रीलाई सिल गरेको छ । कम्पनीलाई सिल गर्ने क्रममा प्रहरीले भेनेगर ५४ कार्टुन, चिनी ३० कार्टुन, अजिना मोटो ३८५ बोरालगायतका सामानहरू बरामद गरेको थियो ।
फागुन ९ गते प्रहरीले श्रेष्ठलाई खोजी गर्दा उनी फरार रहेको प्रहरीले बताएको छ ।
‘मह प्रकरणमा धरौटीमा छुटेपछि हामीले गुणस्तरहीन बिस्कुट बिक्री गरेको आरोपमा सोधपुछ गर्न श्रेष्ठलाई खोजेका थियौं । तर, उनी भागेका छन्,’ अपराध महाशाखाका प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘श्रेष्ठको खोजी भइरहेको छ ।’