
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका उपप्रमुख, वडाध्यक्षसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उपभोक्ता समितिका अध्यक्षलगायतका पदाधिकारी एवं नगरपालिकाका प्राविधिक प्रमुख, इन्जिनियर र सब–इन्जिनियर समेतविरुद्ध मुद्दा दायर गरिएको हो ।आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बागलुङ नगरपालिकाको दाबगरा बसपार्क निर्माण योजनामा हिनामिना भएको अनुसन्धानबाट खुलेको बताए ।
उक्त योजनामा उपप्रमुख सुरेन्द्र खड्का, वडा नं. ४ का वडाध्यक्ष ध्रुवबहादुर केसी र इन्जिनियर मनोज शर्मा सदस्यसचिव भएको समितिले गलत प्रतिवेदन तयार गरी फरफारकका लागि सिफारिस गरेकाले पाँच लाख ९० हजार ५०९ रुपियाँ बिगो माग दाबी लिई कारबाहीको माग गरेको आयोगले जनाएको छ ।
त्यसैगरी प्राविधिक प्रमुख दयाराम अधिकारी, सब–इन्जिनियर घनश्याम रिजाल र इन्जिनियर मनोज शर्माले फिल्डमा नभए नगरेका काम लगत अनुमानभन्दा बढी कुरा नापी किताबमा अस्वाभाविक रूपमा परिमाण परिवर्तन गरेको आयोगको अनुसन्धानबाट खुलेको छ । आयोगले तीनै जनामाथि पाँच लाख ९० हजार ५०९ रुपियाँको बिगो माग दाबी लिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।