
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्धन गर्नुपर्छ भन्ने हेतूले काठमाडौँ महानगरपालिकाले त्यसका लागि सहयाेग गर्दै आएको बताएका छन् ।
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रको नयाँ धम्महल भवनको उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।
‘नेपाल बुद्ध जन्मिएको देश भए पनि बुद्धका बारेमा अध्ययन गर्न र बुद्धको ज्ञान लिन देश बाहिर जानुपर्ने बाध्यता अहिले पनि रहेको भन्दै धेरैतिरबाट सुझाव आयो,’ प्रमुख शाक्यले भने, ‘यस्तो सुझावको सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाले बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्धन गर्नुपर्छ भन्ने हेतूले सहयाेग गर्दै आएको छ ।’
उनले अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि महानगरपालिकाले गरेको आर्थिक सहयाेग त्यहि अभियान अनुसार नै भएको स्मरण गराए । ‘काठमाडौँ महानगरपालिकाले करीब ३ करोड ७८ लाख आर्थिक सहयोग गरेको छ,’ उनले भने, ‘महानगरपालिका र अन्य सहयोगबाट यहाँ स्तरीय हल बनेको देख्दा खुशी लागेको छ । हामीले यहाँ मात्रै होइन अन्य ठाउँमा पनि यस्ता बिहार निर्माणमा सहयोग गर्दै आएका छौँ । त्यो हाम्रो नीति भित्रै पर्छ ।’
प्रमुख शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्रको धर्म, संस्कृति, परम्परा बचाउने दायित्व राज्यसँगै महानगरपालिकाको पनि भएको भन्दै त्यो काम काठमाडौँ महानगरपालिकाले गरिरहेको बताए । ‘चुनावी घोषणापत्रमा समावेश गरे अनुसार नै काठमाडौँ महानगर क्षेत्र भित्रका मूत–अमूर्त सम्पदाको संरक्षण गर्ने प्रतिवद्धता पूरा गर्दै आएका छौँँ,’ शाक्यले भने, ‘हामीले सुरुदेखि नै महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण मूत–अमूर्त सम्पदाको संरक्षण गर्ने अभियान चलाउँदै आयौँ ।’
अहिले काठमाडौँ महानगर क्षेत्र भित्रका धेरै स्थानमा सम्पदा निर्माण–पुर्ननिर्माणको कामले तिव्रता पाएको पनि उनले जानकारी दिए । ‘काठमाडौँ महानगरपालिकाले बाहाल (बहाः) र बहील (बहीः) चैत्यलगायतमा आर्थिक सहयोग गर्दै आएका छ,’ शाक्यले भने, ‘बज्रयानी विहार, थेरवादी विहार र महायानी विहार निर्माण–पुर्ननिर्माणका लागि पनि हामीले सहयोग गर्दै आएका छौँ । त्यसमा पनि बज्रयानी र थेरवादी विहारमा महानगरपालिका प्रसस्तै लगानी गरेको छ ।’
शाक्यले बुद्धज्ञान मार्फत आधारभूत र नैतिक शिक्षाको अध्यापन गराउने असल उदेश्यले सञ्चालित अन्तराष्ट्रिय बौद्ध भावना केन्द्रले बुद्धको देश भनेर विश्वभर चिनाउन निकै ठूलो योगदान गरेको भन्दै यस्तो संस्थालाई महानगरको तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले काठमाडौँ महानगरपालिकाले यस अघि पनि अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालित नेपाल बौद्ध परियत्ति शिक्षाका लागि पाठ्यसामग्री छपाई, दिक्षान्त समारोह, नैतिक आचरण शिक्षाका लागि सहयोग गरेको स्मरण गराए । ‘अहिले काठमाडौँ महानगरपालिका र अन्य दाताको सहयोगमा निर्माण भएको यो भवनको उद्घाटन गर्दै गर्दा मलाई खुशी लागेको छ,’ उनले भने, ‘हामीले केही समय अघि मात्रै राजधानी बाहिर पनि यस्ता असल कामका लागि लगानी गरेका छौँ ।’
गौतमुबद्धको जन्मथललो लुम्बिनीमा हामीले नेपाली मौलिकता झल्किने बज्रयान विहार निर्माणका लागि पनि महानगरपालिकाले लगानी गरेको र त्यो बिहारको राष्ट्रपतिले उद्घाटन गरेको स्मरण गराए । ‘काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि लुम्बिनी भ्रमणका सिलसिलामा जाँदा मौलिकरुपमा बनिरहेको तर अपूरो विहार देखेपछि काठमाडौँ महानगले केही सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको थियो, ‘उनले भने, ‘त्यहि अनुसार सहयोग गरेका थियौँ ।’ राष्ट्रपतिबाट त्यो विहार उद्घाटन हुँदा खुशी लागेको उनले बताए । काठमाडौँ महानगरपालिकाको करीब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ ।
नेपाली बौद्धकला, बास्तुकलाका विहार बन्न छाडेको ३ सय ७२ वर्ष भएको र ३ सय ७२ वर्षपछि अहिले उक्त विहार स्वदेशकै लगानीमा बन्दा स्वाभिमान प्राप्त भएको बताए ।
धर्म नरसिंह शाक्य र चन्द्रादेवी शाक्यले प्रदान गरेको पन्ध्र आना दुई पैसामा करीब ७ करोड लगानीमा निर्माण उक्त भवनमा परियति शिक्षासँगै ध्यान शिविर सञ्चालन गरिने केन्द्रका अध्यक्ष प्रत्येकरत्न ताम्राकारले जानकारी दिए । २०४२ सालमा स्थापना भएको बौद्ध भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ ।