
पश्चिम नवलपरासीसका भारतसँग सिमाना जोडिएका नाका दुई दिनका लागि बन्द (शिल) हुने भएका छन् ।
भारतको उत्तर प्रदेश राज्यको विधान सभा चुनावका लागि नाका शिल गर्न लागिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए ।
नवलपरासी, रुपन्देही र भारत महाराजगञ्ज जिल्लाका सीडीओसहित सुरक्षा अधिकारीहरूको आइतवारको अनलाइन बैठकले फागुन १७ गते बेलुका ६ बजेदेखि १९ गते बेलुका ६ बजेसम्म नाका शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । १६ गतेदेखि सीमा नाकामा दुवै देशका सुरक्षाकर्मीहरूले संयुक्त गस्ती गर्नेछन् ।
नाका शिल भएको समयमा मानिसको आवतजावत समेत पूर्ण रुपमा रोकिने छ । चुनावको अघिल्लो दिन (१८ गते) सम्म भने मतदाताहरू मात्र परिचय पत्रका आधारमा भारत जान पाउने छन् ।
बैठकमा नेपाली पक्षले राखेको वैशाख ३० गतेको स्थानीय निर्वाचनलाई सहयोगको आग्रहलाई पनि भारतले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रजिअ मिश्रले बताए ।
उत्तर प्रदेशअन्तर्गत पर्ने महाराजगञ्ज जिल्लालाई नवलपरासी पश्चिमको साढे २७ किलोमिटर क्षेत्रफलले छोएको छ ।