१६ असार २०८३, मंगलबार
स्थानीय चुनाव

मतदातामाझ दलहरू : स्थानीय चुनावका लागि जनमत जोख्दै

फागुन १७, २०७८
मतदातामाझ दलहरू : स्थानीय चुनावका लागि जनमत जोख्दै

फागुन १२ गते बुटवलमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचन एमालेले जित्नुपर्ने भन्दै त्यहीँ अनुसार लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । 

पार्टीको जनाधार बलियो रहेको बताउँदै उनले एमालेमा विभाजनको असर पार्टीमा नपरेको बताए । 

एमालेले लुम्बिनी प्रदेशमा बुटवलमा चुनाव केन्द्रित प्रशिक्षण र जनमतको माहोल बुझ्दै प्रचार कार्यालय समेत स्थापना गरिसकेको छ ।

नेपाली कांग्रेसले बुटवल–११ मा प्रचार कार्यालय स्थापना गरिसकेको छ । लुम्बिनी प्रदेशमा एमालेका केन्द्रीय नेताहरू जिल्ला–जिल्लामा पुगेर जनमतका अवस्था बुझ्दैछन् । तल्लो तहका नेताहरूलाई स्थानीय तह निर्वाचनको चटारो लागिसकेको छ ।

सोही दिन बुटवलमा नेकपा माओवादी केन्द्रको बृहद् कार्यकता भेला तथा प्रशिक्षणमा नेता तथा पूर्व मन्त्री सुदर्शन थापाले चुनाव केन्द्रित हस्तक्षेप गर्न कार्यकर्तालाई निर्देशन दिए । देशमा अहिले भएका परिवर्तनका मुद्दा माओवादीकै कारण स्थापित भएका भन्दै उनले अबको निर्वाचनमा माओवादी जित्ने गरी लाग्न कार्यकतालाई आग्रह गरे । 

सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ । केन्द्रीय नेताहरू जिल्ला झर्न थालेका छन् ।
 
नेपाली कांग्रेस प्यूठानले आफ्नो जनमत बुझ्न घरधुरी संख्यासहित पार्टीका कार्यकर्ताको सदस्यतालाई अद्यावधिक गरिरहेको छ । प्यूठान कांग्रेस सभापति विष्णु गिरीले आगामी निर्वाचनलाई केन्द्रित गरी बुथ, वडा समिति गठनलाई तीव्र बनाएको बताए ।

‘गत स्थानीय निर्वाचनपछि हामीले पार्टीमा झण्डै १० हजार नयाँ सदस्यता वितरण गरेका छौं,’ गिरीले लोकान्तरसँग भने, ‘सांगठनिक अवस्था बुझ्दै आगामी निर्वाचनमा पार्टीका सबै उम्मेदवारहरू जिताउने गरी चुनाव रणनीति बनाएर अगाडि बढेका छौं । जनमत बुझ्दा जिल्लामा विगतभन्दा धेरै राम्रो छ ।’

सभापति गिरीले भने, ‘गत निर्वाचनमा जिल्लाका ९ स्थानीय तहमध्ये ३ वडाध्यक्ष र एउटा उपाध्यक्ष जितेका थियौं । अहिले हामीले सांगठनिक मजबुतीले गर्दा विगतभन्दा दोब्बर बनाउने रणनीति बनाएका छौं । केन्द्रीय नेताहरूलाई बोलाएर विभिन्न पालिकाहरूमा सभा पनि गर्दैछौं ।’

अब संगठन विस्तारदेखि चुनाव केन्द्रित गतिविधिमा अहोरात्र खटिन कांग्रेसले कार्यकर्तालाई निर्देशन दिएको छ । निर्वाचन आउन अब ७३ दिन मात्र बाँकी छ । आगामी स्थानीय निर्वाचनलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् ।

अमेरिकी सहयोग सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता सदनबाट अनुमोदन भएसँगै दलहरू वैशाखमा निर्वाचन हुनेमा ढुक्क भएर लागेका छन् । 

अबको निर्वाचनमा कांग्रेस सहितको सत्तारूढ गठबन्धन ढुक्क छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सशंकित छ । निर्वाचनमा गठबन्धनले तालमेल गरेर गए आफूलाई अप्ठ्यारो पर्ने एमालेको आकलन छ तर एमाले रूपन्देहीमा अध्यक्ष तेजेन्द्र केसीले एमाले विगतभन्दा बलियो बनेको दाबी गरेका छन् । 

‘विगतमा भन्दा हामी बलियो छौं,’ अध्यक्ष केसीले भने, ‘पालिका अध्यक्ष/उपाध्यक्ष लगायत एमालेमा धेरै नेता कार्यकर्ता प्रवेशको लहर चलेको छ । यो अभियान चुनावसम्म जारी रहन्छ । एमाले विगतभन्दा दोब्बर स्थानीय तहमा जीत निकाल्छ ।’ 

गत निर्वाचनमा एमालेले रूपन्देहीका १६ स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा प्रमुख/उपप्रमुख र एउटा पालिका उपप्रमुखमा जीत निकालेको थियो । रोहिणी र ओमसतिया गाउँपालिकाका प्रमुख/उपप्रमुख हालै एमालेमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसले रूपन्देहीका पालिकाका सबै तहमा निर्विरोध उम्मेदवार चयन गर्नका लागि पार्टीका शुभेच्छुक संगठनका सदस्यहरू रहेको अध्ययन समिति बनाएको छ । कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खाँणले टोल कार्यसमिति गठन गरेर कांग्रेस निर्वाचनमा केन्द्रित भएको बताए । 

उनले भने, ‘जहाँ–जहाँ एमालेले जितेको छ, त्यहाँ–त्यहाँ हामी केन्द्रित छौं । सभा, सम्मेलन र अधिवेशन गरिरहेका छौं । चुनाव केन्द्रित भएका छौं ।’

राजनीतिक क्षेत्रका जानकार मनिकर कार्कीले अबको निर्वाचनले दलहरूको लोकप्रियता र जनआधारको सन्देश देशव्यापी हुने बताए । लुम्बिनी प्रदेशमा १०९ पालिका छन् । १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा विगतको नतिजा हेर्दा धेरै स्थानमा एमालेले जीत हासिल गरेको थियो ।

गुल्मीमा पनि कांग्रेस, एमालेले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । राप्रपाका प्रभावशाली नेता दीपक बोहराको पनि रुपन्देहीमा आवतजावत बाक्लो छ । रुपन्देहीको सिद्धार्थनगर उनको गृहनगर हो । राप्रपाले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्