
कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट चुनाव लड्न विवेकशील साझा पार्टीका सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन् ।
हमाल यसअघि समेत स्वतन्त्रबाट चुनाव लडेर नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडसँग पराजित भएका थिए ।
गत स्थानीय चुनावपछि उनी विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजक बनेका थिए ।
आगामी वैशाख ३० गतेका लागि सरकारले स्थानीय चुनावको मिति घोषणा गरेसँगै उनी चुनावी तयारीमा लागेका छन् ।
उनले राजीनामा पत्रका लेखेका छन्, ‘मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगपालिकाका वासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन् । लामो समयसम्म राजनीति गर्ने मेरो सोच पनि नरहेको र अन्तिमपटक स्थानीय निर्वाचन लड्ने तयारी भएकाले आजकै मितिदेखि पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउँछु ।’
हमाल सुदूरपश्चिमका चर्चित उद्योगी–व्यवसायी समेत रहेका छन् ।
