
एमसीसीको विरोधमा प्रदर्शनकारीले कर्फ्यूका बीच पनि प्रदर्शन गरेका छन् ।
उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शनकारीले प्रदर्शन जारी राखेका हुन् ।
निषेधाज्ञा उल्लंघन गर्ने २३ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने झडपमा प्रहरी निरीक्षकसहित १८ प्रहरी घाइते भएका छन् । घरबाहिर ननिस्कन आग्रह गर्दै माइकिङ गरिरहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनार पनि घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार घाइते प्रहरीमध्ये ९ जनालाई उपचारका लागि अस्पताल लगिएको छ भने बाँकी ९ सामान्य घाइते छन् ।
दुई सर्वसाधारणसमेत घाइते भएका छन् । प्रदर्शनीका कारण वीरेन्द्रनगर क्षेत्रमा तनाव भएपछि जिल्ला प्रशासन कार्यालयले हिजो राति सवा ८ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो ।
हिजो बन्दकर्ताले बेलुका सुर्खेतमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।
एमसीसी अनुमोदनको विरोधमा बन्द आह्वान गरेका दलका कार्यकर्ताहरूले नेकपा एमालेको पार्टी कार्यालयमा आगो लगाएका थिए ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अर्को निर्णय नहुँदासम्मका लागि आज बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए । उनले आज दिनभरको स्थितिअनुसार पछि निर्णय लिइने जानकारी दिए ।