२७ असार २०८३, शनिबार

महाकाली सन्धिबारे सोधिएको प्रश्नमा ओलीको जवाफ- नेपालले वार्षिक ४ अर्ब आम्दानी गरिरहेको छ

फागुन १७, २०७८
महाकाली सन्धिबारे सोधिएको प्रश्नमा ओलीको जवाफ-  नेपालले वार्षिक ४ अर्ब आम्दानी गरिरहेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाकाली सन्धिमा कुनै राष्ट्रघात नभएको र अहिले नेपालले वार्षिक चार अर्ब रूपैयाँ आम्दानी गरिरहेको दाबी गरेका छन् । 

संसदबाट अनुमोदन भएको एमसीसीका सन्दर्भमा पार्टीको धारणा सार्वजनिक गर्न मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ओलीले महाकाली सन्धिको बेला राष्ट्रघात नभएको बताएका हुन् । 

‘हामीले ७ मेगावाट विद्युत् निःशुल्क पाउनुपर्छ, कतिपयलाई गाह्रो लाग्ला, लगभग वार्षिक ४ अर्ब जसो हामीले लिन्छौं क्यार, वास्तविक तथ्यांक तपाईंले बुझ्नुहोला,’ उनले भने, ‘वार्षिक ४ अर्ब हामीले लिइरहेका छौं ।’

पत्रकारहरूले महाकाली सन्धिको बेला गरिएको व्याख्यात्मक टिप्पणी र एमसीसीको बेला गरिएको व्याख्यात्मक घोषणा एकै हो कि होइन भनेर गरेको प्रश्नमा ओलीले त्यसबेला व्याख्यात्मक टिप्पणी संसदबाट अनुमोदन भएको भए त्यसको पनि अर्थ नहुने बताएका थिए । 

ओलीले एमसीसीको सम्बन्धमा संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणा जनता झुक्याउने उपाय मात्रै भएको टिप्पणी गरेका छन् । 

उनले महाकाली सन्धि गराउन आफ्नो पनि भूमिका भएको र त्यसमा राष्ट्रहित प्रतिकूलका प्रावधान नभएको दाबी गरेका हुन् । 

‘त्यसबेला हामी प्रतिपक्षमा थियौँ । महाकाली सन्धिको सम्बन्धमा व्याख्यात्मक टिप्पणी थियो भने अनुचित थियो । महाकाली सन्धि पारित गराउने कुरामा मेरो पनि पहल थियो । सबै कुरा भारतलाई छोडिएको कुरा थिएन,’ ओलीले भने । 

महाकाली सन्धिपछि तत्कालीन एमाले विभाजन भएको थियो । राष्ट्रहित विपरीतका प्रावधान पार्टीले स्वीकार गरेको भन्दै नेताहरू बामदेव गौतम, सहना प्रधान, सीपी मैनालीले अलग पार्टी गठन गरेका थिए ।

तर, तत्कालीन नेताहरू केपी ओली, माधव नेपाललगायतका नेताहरू भने महाकाली सन्धिको पक्षमा थिए । 

ओलीले पत्रकार सम्मेलनमा भने, ‘वार्षिक चार अर्ब रूपैयाँ महाकाली सन्धिको कारण आइरहेको छ । महाकाली सन्धि ठीक थियो । टनकपुर सन्धिबाट एकीकृत महाकाली सन्धिसम्म पुर्‍याएर गरेका थियौँ ।’

महाकाली सन्धिको बेला पनि नक्कली राष्ट्रवाद देखिएको ओलीले टिप्पणी गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्