
रुसले युक्रेनमाथि गरेको आक्रमणका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ ।
एन्टोनीले ट्वीट गर्दै देउवासँग रुसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौमसत्ता, भौगोलिक अखण्डताबारे कुराकानी भएको बताएका छन् ।
एन्टोनीले ट्विटरमा लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँगको कुराकानीमा रूसको अकारण आक्रमण तथा युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको हाम्रो समर्थनलगायत विषयमा कुराकानी भयो । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीहरूसम्बन्धी विविध मामिलामा सहकार्य जारी राख्नेछौं ।’
यसअघि नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्मा युक्रेनको पक्षमा मतदान गरेको थियो । गत आइतवार नेपाली संसदले अमेरिकी सहयोगको एमसीसी सम्झौतासमेत अनुमोदन गरेको छ ।
यस्तै प्रधानमन्त्री देउवाले पनि युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमिकताप्रतिको नेपालको समर्थनका बारेमा पनि छलफल गरेको बताएका छन् ।
साथै नेपालको गरीबी निवारणबारे कुराकानी भएको उनले ट्वीट गर्दै जानकारी दिए ।