
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि आक्रमणको आदेश दिएर गलत आकलन गरेको अमेरिकाका राष्ट्रपति जो बाइडनले बताएका छन् ।
पुटिनले स्वतन्त्र विश्वको आधारशिलालाई हल्लाउन खोजेको बाइडनको भनाइ छ ।
‘इतिहासबाट हामीले पाठ सिक्दै आएका छौं, तानाशाहहरूले आफ्नो आक्रामकताको मूल्य चुकाउन नपर्दा झन् बढी अव्यवस्था ल्याउँछन्,’ बाइडनले मंगलवार राति राष्ट्रको नाममा सम्बोधन गर्दै बताए ।
पुटिनको युद्ध नियोजित र उत्तेजनाविना नै शुरू गरिएको बाइडनको भनाइ छ । उनले कूटनीतिको प्रयासलाई अस्वीकार गरेको अनि पश्चिम तथा नेटोको प्रतिक्रिया आउँदैन भनी सोचेको बाइडनले बताए ।
‘पुटिनले हिंसा र अव्यवस्था मच्चाएका छन् । उनले युद्धमा केही फाइदा लेलान् तर दीर्घकालीन रूपमा उनले यसको ठूलै मूल्य चुकाउनुपर्नेछ,’ बाइडनले बताए ।
अमेरिकाका लागि युक्रेनकी राजदूत ओक्साना मार्कारोभालाई बाइडन र संसद्ले उठेर लामो समयसम्म ताली बजाई प्रोत्साहन गरेका थिए । युक्रेनी जनताको दृढनिश्चयको उनले प्रशंसा पनि गरे ।
‘पुटिन युक्रेनमा प्रवेश गर्छु र संसार उनको पाउमा पर्छ जस्तो लागेको थियो । तर उनले कल्पना नगरेको भित्तोमा ठोकिनुपरेको छ,’ बाइडनले बताए ।
युक्रेन सरकारलाई अमेरिकाले आर्थिक र सैन्य सहायता उपलब्ध गराउने बाइडनको भनाइ छ । तर युक्रेनमा अमेरिकी सैनिक भने नपठाउने उनले स्पष्ट पारे ।
तर युरोपमा अमेरिकाको सैन्य उपस्थिति बढाएको कुरा झिक्दै उनले यस तैनाथीबाट युरोपेली सहयोगीहरूको हौसला बढ्ने बताए ।