
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद् अवरोधको निकास खोज्न नसक्नु गैरजिम्मेवारीपन भएको आरोप लगाएका छन् ।
बुधवार प्रतिनिधि सभाको बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले प्रतिनिधि सभा ६ महिनादेखि बन्द हुनु दुःखद् भएको बताए ।
सांसदहरूले संसद्मा छलफलमा सहभागी नभई भत्ता लिनु लज्जास्पद भएको भट्टराईको भनाइ छ ।
सरकारले संसद्को अवरोध नहटाउनु जनताप्रतिको अपमान भएको आरोप पनि भट्टराईले लगाए ।
उनले भने, ‘जनताको सर्वोच्च प्रतिनिधि सभा ६ महिनादेखि बन्द बस्नु उपयुक्त हुँदैन । यो दुःखद् भयो । सबै जिम्मेवार बनेर यसको निकास खोजौँ भन्ने कुरा मैले राखेको छु । सबै कुराको निकास खोज्न सकिन्छ । यो एकदमै गैरजिम्मेवार भयो ।’