१२ साउन २०८३, मंगलबार

आफ्नो पक्षमा जित हात पार्न राजनीतिक दलका नेताको दौडधुप

फागुन २०, २०७८
आफ्नो पक्षमा जित हात पार्न राजनीतिक दलका नेताको दौडधुप

 सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोकेको छ । सरकारले निर्वाचन मिति तोकेसँगै जिल्ला निर्वाचन कार्यालयले पनि तयारी तीव्र बनाएको छ ।

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै जिल्लास्थित राजनीतिक दलले पनि आफ्नो पक्षमा जित हात पार्न चुनावी गतिविधि बढाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी अस्तित्वमा छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले फागुन १७ गते सचिवालय बैठक बसेर चुनावी रणनीति तय गरेको छ । एमालेको चुनावी रणनीतिअनुसार जिल्लाका १० वटै स्थानीय तहमा इन्चार्ज तथा सहइन्चार्जका साथै विभिन्न विभाग गठन गरेको छ । एमालेले विसं २०७४ मा भएको निर्वाचनमा पाँच स्थानीय तहमा जित हात पारेको थियो । गृहजिल्लामा भएका एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले खोटाङमा पहिलेको तुलनामा यो स्थानीय चुनावमा दुईवटा स्थानीय तहमा थप जित हात पार्ने दाबी गरे ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले गत शनिबार एकैचोटि जिल्लाका १०वटै स्थानीय तहमा चुनाव लक्षित अभिमुखीकरण कार्यक्रम गरेको थियो । अभिमुखीकरण कार्यक्रमको अनुगमनमा जिल्ला तथा प्रदेशस्तरका नेता खटिएका थिए। जिल्ला सभापति विष्णुकुमार राई, पूर्वपर्यटनमन्त्री सर्वधन राई, पूर्वजिल्ला सभापति नरेशकुमार श्रेष्ठलगायत नेता निर्वाचनलाई लक्षित गरेर भूगोलमा खटिएका छन् । चुनावलक्षित पालिकास्तरीय कार्यक्रममा पालिकास्तरकै नेताहरू जुटेका छन् ।

अघिल्लो निर्वाचनमा जिल्लाका १० स्थानीय तहमध्ये चारवटामा कांग्रेसले जितेको थियो । अबको निर्वाचनमा थप पालिकामा जित हात पार्न कांग्रेस लागिपरेको जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए । सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र०ले पनि चुनावी तयारी थालेको छ । अघिल्लो निर्वाचनमा एउटा स्थानीय तहमा मात्र जित हात पारेको माओवादी केन्द्रका केन्द्रीय नेता गाउँ पसेका छन् ।

माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राई, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समिता कार्की, दुर्गाजयन्ती राईलगायत नेता दौडधुपमा छन् । सबै स्थानीय तहको तल्लो तहसम्म पार्टी केन्द्रले नै सर्कुलर जारी गरेर पार्टी सङ्गठन निर्माण तथा चुनावी अभियानमा लागिएको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कार्कीले बताइन् । माओवादी केन्द्रले जिल्लाका हरेक स्थानीय तहमा सङ्गठन विस्तारसँगै जनवर्गीय सङ्गठन पुनःगठन गरेको छ । आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरेर हरेक स्थानीय तहमा १५० सदस्यीय वाइसीएल नेपालको पालिकास्तरीय समिति बनाइएको माओवादी केन्द्रका अध्यक्ष दीपक पाण्डेले जानकारी दिए ।

एमालेबाट भर्खरै विभाजन भएर बनेको नेकपा ९एकीकृत समाजवादी०  पनि निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तारमा जुटेको केन्द्रीय सदस्य कुलप्रसाद फुँयालले बताए । आगामी चुनावमा आफ्नो पार्टी एक्लैले जित्न नसक्ने भएपछि अरू दलसँग मिलेर चुनाव लड्ने योजना रहेको पूर्व सांसदसमेत रहेका केन्द्रीय सदस्य फुँयालले बताए ।

एकीकृत समाजवादीले जिल्लाका १० मध्ये नौ स्थानीय तहमा पालिकास्तरीय सङ्गठन तथा कार्यालय स्थापना गरिरहेको छ । रावाबेँसी गाउँपालिकामा पालिकास्तरीय सङ्गठन तथा कार्यालय स्थापना गर्न बाँकी रहेको र उक्त स्थानीय तहमा चाँडै स्थापना गर्ने तयारी भइरहेको जिल्ला अध्यक्ष जलशेर राईले बताए।

जनता समाजवादी पार्टी पनि सङ्गठन विस्तारमा जुटेको छ । देशमा चौथो दलको अस्तित्वमा रहेको जनता समाजवादी पार्टी जिल्लामा चुनावी तालमेल गरेर अगाडि बढ्ने तयारीमा रहेको छ । आगामी निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थासमेत कडा बनाउने तयारी भइरहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्